सभामुख र सांसद बस्ने कुर्सी कुन देशको काठबाट बनेको हो ? भन्दै निशा डाँगीको प्रश्न
प्रकाशित मिति
२०८३ जेष्ठ १३ गते, बुधबार १२:४९
१३ जेठ २०८३ काठमाडौं – निशा डाँगी ले संसद भवनमा प्रयोग भएका कुर्सी कुन देशको काठबाट बनेका हुन् भन्दै सरकारसँग प्रश्न गरेकी छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपा सांसद डाँगीले आगामी नयाँ संसद भवनमा सभामुख र सांसदहरूले प्रयोग गर्ने फर्निचर नेपाली काठबाट बनाउनुपर्नेमा जोड दिइन् ।

नेपालमा पर्याप्त काठ हुँदाहुँदै विदेशबाट काठ आयात भइरहेको भन्दै उनले सरकारको नीतिमाथि प्रश्न उठाइन् । महालेखा परीक्षकको ६१औँ प्रतिवेदन उद्धृत गर्दै उनले नेपालको काठको सदुपयोग नहुँदा हरेक वर्ष अर्बौं रुपैयाँ बराबरको काठजन्य सामग्री आयात भइरहेको बताइन् ।

उनले स्वदेशी काठ निकाल्न जटिल प्रक्रिया हुने तर विदेशी काठ आयात गर्न सहज रूपमा एलसी खुल्ने अवस्थालाई गलत नीति भएको टिप्पणी गरिन् ।

सांसद डाँगीले संसद भवन र सिंहदरबारबाटै नेपाली काठबाट बनेका फर्निचर प्रयोग सुरु गर्न सरकारको ध्यानाकर्षण गराउँदै काठमाथिको परनिर्भरता अन्त्य गर्न आग्रह गरेकी छन् ।




प्रतिकृया