• ४ साउन २०८३, सोमबार
  • १२:५३ बिहान

अपवित्र साँठगाँठ होइन, वामपन्थी पुनर्गठन आवश्यक: झलनाथ खनाल

प्रकाशित मिति

२०८३ श्रावण ३ गते, आईतवार ११:४४

३ साउन २०८३ काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रदेशमा नयाँ राजनीतिक समीकरणबारे चर्चा भइरहेका बेला अपवित्र राजनीतिक साँठगाँठमा नलाग्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।

आइतबार जारी वक्तव्यमा उनले कुनै पनि नयाँ राजनीतिक समीकरणबारे निर्णय गर्नुअघि पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बोलाएर विस्तृत छलफल गर्नुपर्नेमा जोड दिएका छन्। क्रान्तिकारी उद्देश्य र वर्गीय दृष्टिकोणलाई केन्द्रमा राखेर मात्र प्रदेश सरकार गठनसम्बन्धी नीति तय गर्नुपर्ने उनको भनाइ छ।

Kamana Sewa

खनालले केही नेताहरूको कुर्सीमोह र आत्मतुष्टिका लागि हुने राजनीतिक सम्झौताले पार्टीलाई दक्षिणपन्थी वर्ग सम्झौतावादतर्फ धकेल्ने चेतावनी दिँदै त्यसलाई संस्थागत रूपमा रोक्नुपर्ने बताएका छन्। उनले अहिलेको आवश्यकता सत्ता समीकरण नभई सही कार्यदिशाका आधारमा पार्टीको पुनर्गठन र रूपान्तरण भएको उल्लेख गरेका छन्।

Classic Tech Desktop

वक्तव्यमा उनले बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि जनताले राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, जनजीविका र छिमेकी मुलुकसँगको सम्बन्ध सुधार हुने अपेक्षा गरे पनि अवस्था उल्टो दिशातर्फ गएको दाबी गरेका छन्। श्रमजीवी जनता निराश बन्दै गएको र विदेशी हस्तक्षेप तथा घरेलु अव्यवस्थाविरुद्ध देशभक्त, लोकतान्त्रिक, वामपन्थी, समाजवादी र प्रगतिशील शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

खनालले विगतमा वामपन्थी दलहरूले नीतिहीन र गुटगत स्वार्थका आधारमा दक्षिणपन्थी शक्तिसँग सहकार्य गर्दै आएको टिप्पणी गर्दै अहिले पनि त्यही गल्ती दोहोरिने खतरा रहेको बताएका छन्। दक्षिणपन्थी शक्तिसँगको साँठगाँठले कम्युनिस्ट आन्दोलन र पार्टीको प्रतिष्ठामा थप क्षति पुग्ने भएकाले त्यसबाट सचेत रहन उनले आग्रह गरेका छन्।

प्रतिकृया