स्थानीय तहबाटै भूमि प्रशासन सेवा सुरु गर्ने तयारीमा मध्यपुर थिमी, कागेश्वरी मनोहराको अध्ययन भ्रमण
प्रकाशित मिति
२०८३ श्रावण २ गते, शनिबार १०:०२
२ साउन २०८३ भक्तपुर – मध्यपुर थिमी नगरपालिकाले स्थानीय सरकारमार्फत भूमि प्रशासन सेवा सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको छ। सेवा सञ्चालनका लागि आवश्यक कानुनी, प्राविधिक तथा प्रशासनिक तयारीलाई व्यवस्थित बनाउन नगर प्रमुख सुरेन्द्र श्रेष्ठको नेतृत्वमा रहेको टोलीले शुक्रबार कागेश्वरी मनोहरा नगरपालिकाको अध्ययन भ्रमण गरेको हो।
टोलीमा नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे तथा अमिनसहितका कर्मचारी सहभागी थिए। कागेश्वरी मनोहरा नगरपालिका स्थानीय तहबाट पहिलो पटक भूमि प्रशासन सेवा सञ्चालन गर्ने नगरपालिका भएकाले त्यहाँको अभ्यास अध्ययन गरिएको जनाइएको छ।

भ्रमणका क्रममा कागेश्वरी मनोहराका नगर प्रमुख उपेन्द्र कार्की तथा सम्बन्धित कर्मचारीसँग भूमि प्रशासन सेवा सञ्चालनसम्बन्धी कानुनी व्यवस्था, कार्यप्रक्रिया, प्राविधिक प्रणाली, सेवा प्रवाहको अभ्यास र कार्यान्वयनका अनुभवबारे विस्तृत छलफल भएको थियो।

अध्ययन टोलीले सेवा सञ्चालनका क्रममा अपनाइएका प्रभावकारी अभ्यास, देखिएका चुनौती तथा समाधानका उपायबारे जानकारी लिँदै मध्यपुर थिमीमा सेवा विस्तारका लागि आवश्यक अनुभव संकलन गरेको जनाएको छ।
नगर प्रमुख सुरेन्द्र श्रेष्ठले स्थानीय सरकारबाटै भूमि प्रशासन सेवा उपलब्ध गराउने विषय नगरपालिकाको प्राथमिकतामा रहेको बताउँदै अध्ययन भ्रमणबाट प्राप्त अनुभवले सेवा सञ्चालनलाई अझ प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उहाँले स्थानीय तहबाटै जग्गासम्बन्धी सेवा उपलब्ध हुँदा नागरिकको समय र खर्च दुवै बचत हुने उल्लेख गरे।
नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले नागरिकलाई सहज, छिटो, पारदर्शी र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले सफल अभ्यास भएका स्थानीय तहबाट सिकाइ लिँदै आवश्यक तयारीलाई तीव्र बनाइएको बताए। यसैबीच, नगरपालिकाका सूचना अधिकारी केशव सिलवालले भूमि प्रशासन सेवा सञ्चालनका लागि आवश्यक प्रशासनिक, प्राविधिक तथा संस्थागत तयारी भइरहेको जानकारी दिए। अध्ययन भ्रमणबाट प्राप्त अनुभवलाई कार्यान्वयनमा उपयोग गर्दै सेवा सञ्चालनका लागि बाँकी प्रक्रिया समयमै पूरा गरिने उनले बताए।
नगरपालिकाका अनुसार सेवा सञ्चालनमा आएपछि जग्गा दर्ता, अभिलेख व्यवस्थापनलगायत भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध हुनेछ। यसले सेवा प्रवाहलाई थप छरितो, प्रभावकारी र नागरिकमुखी बनाउने विश्वास नगरपालिकाले लिएको छ।




प्रतिकृया