• १५ भदौ २०८३, मंगलबार
  • ३:३७ बेलुका

बाढीले बीमा क्षेत्रमा ठूलो धक्का, ५८३ बीमालेखबाट साढे २५ अर्बको दाबी

प्रकाशित मिति

२०८३ भाद्र १६ गते, मंगलवार ०३:३६

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण विभिन्न बीमा कम्पनीमा परेको प्रारम्भिक बीमा दाबी रकम २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँ पुगेको छ।

नेपाल बीमा प्राधिकरणमा भदौ १५ गतेसम्म प्राप्त विवरणअनुसार बाढीबाट ५८३ वटा बीमालेख प्रभावित भएका छन्। ती बीमालेखबाट कुल २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको हो।

Kamana Sewa

कम्पनीगत रूपमा सबैभन्दा ठूलो प्रारम्भिक दाबी द ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडमा परेको छ। कम्पनीमा ८ वटा बीमालेखबाट मात्रै १३ अर्ब ४ करोड २१ लाख २६ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

Classic Tech Desktop

त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्समा ३८ बीमालेखबाट ४ अर्ब ९७ करोड ४८ लाख ७२ हजार रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्समा १०२ बीमालेखबाट २ अर्ब १० करोड २८ लाख ७२ हजार रुपैयाँ तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ६७ बीमालेखबाट १ अर्ब ८८ करोड ७३ लाख ७६ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

शिखर इन्स्योरेन्समा १२७ बीमालेखबाट १ अर्ब ८७ करोड ५४ लाख ५९ हजार रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्समा ४५ बीमालेखबाट ६४ करोड ७८ लाख २० हजार रुपैयाँ तथा नेको इन्स्योरेन्समा ६६ बीमालेखबाट ५१ करोड ७० लाख ३७ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

त्यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३२ बीमालेखबाट २४ करोड २३ लाख २७ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्समा ३२ बीमालेखबाट २३ करोड ८६ लाख ४५ हजार रुपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा २६ बीमालेखबाट १८ करोड ७३ लाख ४ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

एनएलजी इन्स्योरेन्समा २१ बीमालेखबाट ११ करोड ३१ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्समा १४ बीमालेखबाट ३ करोड १२ लाख ८ हजार रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीमा २ बीमालेखबाट ७६ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्समा २ बीमालेखबाट ५३ लाख ३५ हजार रुपैयाँ तथा नेपाल माइक्रो इन्स्योरेन्समा १ बीमालेखबाट ५ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको प्राधिकरणले जनाएको छ।

इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा २० अर्बभन्दा बढी दाबी

बीमालेखको प्रकारअनुसार हेर्दा सबैभन्दा ठूलो दाबी इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा परेको छ। यस शीर्षकअन्तर्गत ५२ वटा बीमालेखबाट २० अर्ब ५० करोड ७७ लाख ९० हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

त्यस्तै, सम्पत्ति बीमातर्फ ११३ बीमालेखबाट २ अर्ब ३४ करोड ६२ लाख २० हजार रुपैयाँ, मोटर बीमातर्फ ३१३ बीमालेखबाट १ अर्ब ५५ करोड ९ लाख ३९ हजार रुपैयाँ तथा परिवहन बीमातर्फ ४७ बीमालेखबाट ८९ करोड ७७ लाख ३७ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

अन्य बीमाअन्तर्गत ५४ बीमालेखबाट ५२ करोड ९२ लाख ९२ हजार रुपैयाँ र स्वास्थ्य बीमाअन्तर्गत ४ बीमालेखबाट ४१ लाख ६० हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ।

बाढीबाट भएको क्षतिको विवरण संकलन र मूल्यांकन जारी रहेकाले आगामी दिनमा बीमा दाबी रकम थप बढ्न सक्ने अनुमान गरिएको छ।

प्रतिकृया