भ्रामक प्रचार गरे आफ्ना अभिकर्तालाई कारवाही गर्ने नेपाल लाइफको चेतावनी
प्रकाशित मिति
२०८३ भाद्र ८ गते, सोमबार ०९:२९
काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमा अभिकर्ताहरूलाई बीमा सम्बन्धी गलत तथा भ्रामक प्रचारप्रसार नगर्न निर्देशन दिएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रविण रमन पराजुलीले सार्वजनिक सूचना जारी गर्दै नेपाल बीमा प्राधिकरणको निर्देशन र कम्पनीको आचारसंहिता विपरीत कार्य गरेमा कानून बमोजिम कारवाही गर्ने भन्दै आफ्ना अभिकर्तालाई सचेत गराएका हुन् ।
नेपाल बीमा प्राधिकरणले सोमबार ध्यानाकर्षण सूचना जारी गर्दै केही बीमा मध्यस्थकर्ताहरूले विभिन्न संस्थाको व्यवसायमा प्रतिकूल असर पर्ने गरी गलत र भ्रामक प्रचारप्रसार गरिरहेको उजुरी परेको जनाएको थियो।

सोही आधारमा बीमा अभिकर्ता सम्बन्धी निर्देशिका, २०८३ को निर्देशिका नं. १९ अन्तर्गत अनुसूची १ को बूँदा नं. २ (ज) बमोजिम अभिकर्ताले आफू अभिकर्ता नभएको बीमकको बारेमा वा आफूले प्रतिनिधित्व गर्ने बीमकको क्षमताको बारेमा गलत वा अतिरञ्जित प्रचारप्रसार गर्न नपाउने व्यवस्था कडाइका साथ पालना गर्न भनिएको छ।

नेपाल लाइफले २०८३ बैशाख ९ गतेदेखि लागू गरेको अभिकर्ता आचारसंहिताको दफा २.२५ अनुसार सामाजिक सञ्जाल वा अन्य माध्यममा कम्पनीको छवि बिग्रिने, गलत सूचना फैलाउने वा भ्रामक प्रचार गर्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ।
यो नियम र प्रचलित कानूनको उल्लङ्घन गरी भ्रामक प्रचार गरेको पुष्टि भएमा सम्बन्धित अभिकर्तालाई प्रचलित कानून बमोजिम कडा कारवाही गरिने चेतावनी सीइओ पराजुलीले दिएका छन् ।




प्रतिकृया