बलात्कारका दोषीलाई कडा सजाय दिन आशिका तामाङको माग
प्रकाशित मिति
२०८३ भाद्र ८ गते, सोमबार ०४:४१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बलात्कारका दोषीलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्। सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले अहिलेको कानुनी व्यवस्थाले बलात्कारजस्तो जघन्य अपराधमा प्रभावकारी रूपमा डर पैदा गर्न नसकेको बताइन्।
उनले बलात्कारका दोषीलाई कडा सजायको व्यवस्था गर्नुपर्ने भन्दै सरकारसमक्ष विभिन्न विकल्पसमेत प्रस्तुत गरिन्। तामाङले फाँसीको व्यवस्था गर्नुपर्ने, त्यो सम्भव नभए जेलमा कठोर व्यवस्था गर्नुपर्ने वा अपराधमा प्रयोग भएको अंग नै छेदन गर्ने कानुन बनाउनुपर्ने धारणा राखिन्।

सडकमा बलात्कारीलाई कडा सजाय दिनुपर्ने आवाज उठ्ने गरेको उल्लेख गर्दै उनले ‘कडा सजाय’ भन्नाले के बुझिन्छ भन्ने विषयमा स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताइन्।

तामाङले अपराधीको क्रूरता हेरेर कानुन परिवर्तन नगरेसम्म पीडितले न्याय पाउन नसक्ने बताइन्। उनले बारा जिल्लाकी ३ वर्षीया गरिमा चौधरी र कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तजस्ता पीडितको न्यायका लागि कानुनमै कडा व्यवस्था आवश्यक रहेको उल्लेख गरिन्। उनले बलात्कार नियन्त्रणका लागि भाषण र प्रतिबद्धता मात्र नभई कानुनमै प्रभावकारी तथा कडा प्रहार आवश्यक रहेको बताइन्।




प्रतिकृया