स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
प्रकाशित मिति
२०८३ श्रावण १५ गते, शुक्रबार ०१:१५
काठमाडौं । स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराका अनुसार भण्डारीमाथि स्मार्ट सेलसँग सम्बन्धित प्रकरणमा अनुसन्धान अघि बढाइएको छ। अनुसन्धानका क्रममा स्मार्ट सेलको सम्पत्ति बिक्री प्रक्रियाबाट राज्यलाई आर्थिक हानि–नोक्सानी पुर्याएको आरोपमा उनीमाथि छानबिन भइरहेको प्रहरीले जनाएको छ।

भण्डारी यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेकी रेखा शर्माको कार्यकालमा विज्ञका रूपमा मन्त्रीको सचिवालयमा कार्यरत थिए। त्यसपछि टेरामक्स प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेपछि भण्डारी प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए।

प्रहरीले पक्राउपछि उनीमाथि स्मार्ट सेल घोटाला प्रकरणसँग सम्बन्धित निर्णय, सम्पत्ति व्यवस्थापन र सम्भावित आर्थिक अनियमितताका विषयमा थप अनुसन्धान अघि बढाउने जनाएको छ।




प्रतिकृया