रास्वपाको केन्द्रीय समिति बैठक आज,यस्ता छन् कार्यसूची
प्रकाशित मिति
२०८३ भाद्र ५ गते, शुक्रबार ०९:२१
५ भदौ २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ। वनस्थलीस्थित केन्द्रीय कार्यालय घण्टीघरमा बिहान ११ बजे बैठक बोलाइएको हो।
महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीका दस्तावेज, सांगठनिक व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम र अभियानलगायत विषयमा छलफल हुने कार्यसूची रहेको छ। बैठकमा स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ अनुमोदन गर्ने तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माणका विषयमा छलफल हुनेछ।

त्यस्तै, केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखहरूको मनोनयन पनि बैठकको कार्यसूचीमा राखिएको छ। स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनबारे समेत निर्णय हुने बताइएको छ।

यस्तै, केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’ सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ। रास्वपाले पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषयलाई समेत बैठकको कार्यसूचीमा समेटेको छ।




प्रतिकृया