विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
प्रकाशित मिति
२०८३ असार २९ गते, सोमबार ०४:०६
२९असार २०८३ काठमाडौं – दाङको घोराही उपमहानगरपालिका–१५ स्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्ने उद्देश्यले शिक्षा अधिकृतमाथि मोबिल छर्किएको आरोपमा एक वडा सदस्य पक्राउ परेका छन्।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ का ४२ वर्षीय वडा सदस्य उत्तम बुढाथोकी रहेका छन्। प्रहरीका अनुसार असार २७ गते बिहान निर्वाचनका मतदान अधिकृतसमेत रहेका घोराही उपमहानगरपालिकाको शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोराले चलाएको रा.१ ब १०४२ नम्बरको मोटरसाइकल रोकी बुढाथोकीले उनको शरीरमा मोबिल छर्किएका थिए। घटनापछि उनी फरार भएका थिए।

घटनापछि अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा असार २८ गते मुद्दा दर्ता गरिएको थियो। दाङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले असार २९ गते घोराही–१५ बाट लुकिछिपी बसेको अवस्थामा बुढाथोकीलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।





प्रतिकृया