सातै प्रदेशमा आधुनिक बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री बालेनको निर्देशन
प्रकाशित मिति
२०८३ असार २९ गते, सोमबार ०४:१२
२९असार २०८३ काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देशका सातै प्रदेशमा आधुनिक सुविधासहितका बर्न (जलन) उपचार केन्द्र स्थापना गर्ने प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा उनले प्रमुख सरकारी अस्पतालमा रहेका बर्न वार्डलाई थप सुदृढ र प्रभावकारी बनाउन पनि निर्देशन दिए।
प्रधानमन्त्री शाहले गम्भीर जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने सुनिश्चित गर्न संघ, प्रदेश र स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनले स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालको सरसफाइ, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको अधिकतम प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयनमा जोड दिए।

उनले आर्थिक रूपमा कमजोर, विपन्न तथा असहाय नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालहरूले ओपिडी सेवाको कम्तीमा १० प्रतिशत सहुलियत उपलब्ध गराउने कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न पनि निर्देशन दिएका छन्।

बैठकमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर सुधार, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, अनुसन्धान प्रवर्द्धन, पूर्वाधार विकास तथा अस्पतालको सरसफाइका विषयमा सुझाव प्रस्तुत गरेका थिए।
उनीहरूले स्वास्थ्य क्षेत्रमा डिजिटल रूपान्तरण, अस्पताल सूचना व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन तथा केही प्रतिष्ठानको जग्गा अतिक्रमणका कारण संस्थागत विकासमा परेको असरबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
छलफलमा पाटन, राप्ती, पोखरा, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपतिहरू सहभागी थिए।




प्रतिकृया