हिक्मतकुमार कार्कीले पाए तेस्रो पटक विश्वासको मत
प्रकाशित मिति
२०८३ भाद्र ८ गते, सोमबार ०४:३२
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन्। सोमबार प्रदेशसभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ५७ मत परेको छ। प्रस्तावको विपक्षमा २२ मत परेको छ भने ४ जना सांसदले मत दिन्नँ भन्ने पक्षमा मतदान गरेका छन्।
९२ सदस्यीय कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न ४७ मत आवश्यक पर्छ। कार्कीले आवश्यक बहुमतभन्दा १० मत बढी प्राप्त गरेका हुन्। मतदान प्रक्रियामा ८३ जना सांसद सहभागी भएका थिए।

मतदानका क्रममा जनता समाजवादी पार्टी (जसपा)की सांसद निर्मला लिम्बू भने अनुपस्थित रहेकी थिइन्। नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले संवैधानिक व्यवस्थाअनुसार पुनः विश्वासको मत लिनुपरेको थियो। एमालेका ४० र नेपाली कम्युनिष्ट पार्टीका १७ सांसदको समर्थनबाटै कार्कीले बहुमत सुनिश्चित गरेका हुन्।

कार्कीले यसअघि पनि दुई पटक विश्वासको मत लिइसकेका छन्। यसपटकको मतसँगै कोशी प्रदेश सरकारको नेतृत्वमा उनको निरन्तरता कायम भएको छ।




प्रतिकृया