संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
प्रकाशित मिति
२०८३ असार २५ गते, बिहीबार १०:१९
२५ असार २०८३ काठमाडौं – नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा आफ्नो औपचारिक धारणा आज सार्वजनिक गर्ने भएको छ। पार्टी सभापति गगनकुमार थापाले ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ शीर्षकको दस्तावेज ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे आयोजित कार्यक्रममा सार्वजनिक गर्नेछन्।
कांग्रेसले संविधान संशोधनसम्बन्धी अध्ययन र सुझाव तयार गर्न उपसभापति पुष्पा भुसालको संयोजकत्वमा विज्ञ समिति गठन गरेको थियो। वरिष्ठ अधिवक्ता तथा कानुनविद्हरू सम्मिलित उक्त समितिले तयार पारेको सुझावका आधारमा पार्टीको आधिकारिक दृष्टिकोण सार्वजनिक गर्न लागिएको हो।

समितिमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सीताराम केसी र ललितकुमार बस्नेत तथा अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ र झलमाया विक सदस्य छन्। समितिको सदस्य सचिवको जिम्मेवारी अधिवक्ता राजु कटुवालले सम्हालेका छन्।

संविधान संशोधनका विषयमा प्रमुख राजनीतिक दलहरूबीच मतभिन्नता देखिइरहेका बेला कांग्रेसले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न लागेको हो। यसअघि संविधान संशोधनको बहस र प्रक्रियालाई अघि बढाउन गठन गरिएको ‘संविधान संशोधन बहसपत्र कार्यदल’ बाट नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, जसपा, लोसपा र राजमो बाहिरिने निर्णय गरेका थिए।
प्रमुख दलहरूको बहिर्गमनपछि संविधान संशोधनको बहस थप पेचिलो बनेका बेला कांग्रेसले सार्वजनिक गर्न लागेको दृष्टिकोणलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।




प्रतिकृया