• २५ असार २०८३, बिहीबार
  • ४:२८ बेलुका

निर्माण क्षेत्रको संकट समाधान खोज्दै प्रधानमन्त्री शाह, व्यवसायीसँग विस्तृत छलफल

प्रकाशित मिति

२०८३ असार २५ गते, बिहीबार ०२:५३

२५ असार २०८३ काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण व्यवसायीहरूसँग छलफल गर्दै निर्माण क्षेत्रलाई रुग्ण अवस्थाबाट बाहिर निकाल्न सरकारले आवश्यक पहल गर्ने बताएका छन्। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको प्रमुख आधार भएकाले यस क्षेत्रका व्यावहारिक समस्याको समाधानमा सरकार सकारात्मक रहेको बताएका हुन्।

प्रधानमन्त्री शाहले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्न सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गरे।

Kamana Sewa

छलफलपछि व्यवसायीहरूले प्रधानमन्त्रीले मुलुकको अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्दै तत्कालीन लाभभन्दा दीर्घकालीन सुधारमा केन्द्रित भएर निर्माण क्षेत्रलाई अघि बढाउने विषयमा गम्भीर छलफल गरेको जानकारी दिए।

Classic Tech Desktop

बैठकमा निर्माण व्यवसायीहरूले लामो समयदेखि देखिएको भुक्तानी समस्या, म्याद थप, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौतीबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए। साथै, निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य थप प्रभावकारी बनाउनुपर्ने धारणा पनि राखेका थिए।

करिब आधा घण्टाको समय तय गरिएको छलफल एक घण्टासम्म चलेको थियो। छलफलका क्रममा प्रधानमन्त्री शाहले निर्माण क्षेत्रका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका व्यवसायीहरूले बताएका छन्।

छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी थिए।

प्रतिकृया