• १० भदौ २०८३, बिहीबार
  • ११:३८ बिहान

बाढी प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा वैकल्पिक लाइनबाट विद्युत् सुचारु

प्रकाशित मिति

२०८३ भाद्र ११ गते, बिहीबार ११:३८

११ भदौ २०८३ काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनःसुचारु गरेको छ। प्राधिकरणका अनुसार खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या र विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति गरिएको हो।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार चपली–देवीघाट ६६ केभी तथा बालाजु–त्रिशूली ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गरी सञ्चालनमा ल्याउने काम भइरहेको छ। आवश्यक प्राविधिक काम पूरा गरी यी लाइनबाट पनि साँझसम्म विद्युत् सेवा सुचारु गर्ने प्रयास भइरहेको छ।

Kamana Sewa

त्रिशूली क्षेत्रका केही स्थानमा धादिङको सल्यानटार सबस्टेसनमार्फत विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था गरिएको छ। क्षतिग्रस्त संरचनाको मर्मत तथा विद्युत् आपूर्ति पुनःस्थापनाका लागि काठमाडौं तथा आसपासबाट दक्ष प्राविधिक टोली र आवश्यक उपकरण नुवाकोटमा परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

Classic Tech Desktop

यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको निर्देशनअनुसार कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको नेतृत्वमा उच्चस्तरीय टोली प्रभावित क्षेत्रमा खटिएको छ। टोलीले विद्युत् संरचनाको निरीक्षण, मर्मत तथा वैकल्पिक आपूर्ति व्यवस्थापनलाई प्राथमिकता दिएको छ।

प्राधिकरणले सम्भव भएका स्थानमा वैकल्पिक प्रणालीबाट विद्युत् आपूर्ति सञ्चालन गर्दै क्षतिग्रस्त संरचना मर्मत गरेर नियमित सेवा यथाशीघ्र पुनःस्थापना गर्ने जनाएको छ।

प्रतिकृया