फिफा विश्वकप २०२६: अर्जेन्टिना र स्पेनबीच उपाधिका लागि फाइनल भिडन्त सुरु
प्रकाशित मिति
२०८३ श्रावण ४ गते, सोमबार ०१:०५
फिफा विश्वकप २०२६: अर्जेन्टिना र स्पेनबीच उपाधिका लागि फाइनल भिडन्त सुरु
काठमाडौं — फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनल खेल अमेरिकाको न्यु जर्सीस्थित स्टेडियममा सुरु भएको छ। विश्व फुटबलको सर्वाधिक प्रतिष्ठित उपाधिका लागि साविक विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेन आमनेसामने भएका छन्।

स्पेन उत्कृष्ट लयमा फाइनल पुगेको टोली हो। सेमिफाइनलमा उपाधिका प्रमुख दाबेदार फ्रान्सलाई प्रभावशाली प्रदर्शनसहित पराजित गर्दै स्पेनले उपाधि नजिकको यात्रा तय गरेको थियो। लामो समय बल आफ्नो नियन्त्रणमा राख्ने शैली, व्यवस्थित खेल र सटिक फिनिसिङका कारण स्पेन प्रतियोगिताकै सबैभन्दा सन्तुलित टोलीका रूपमा देखिएको छ।

समूह ‘एच’ मा स्पेनले केप भर्डेसँग गोलरहित बराबरीबाट प्रतियोगिताको सुरुआत गरे पनि त्यसपछि साउदी अरेबियालाई ४–० र उरुग्वेलाई १–० ले पराजित गर्दै समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको थियो। अन्तिम ३२ मा अस्ट्रियालाई ३–० ले हराएको स्पेनले अन्तिम १६ मा पोर्चुगल र क्वार्टरफाइनलमा बेल्जियमलाई समान रूपमा मिकेल मेरिनोको अन्तिम समयमा गरेको निर्णायक गोलको मद्दतमा पराजित गरेको थियो। प्रतियोगिताभर स्पेनले हालसम्म केवल एक गोल मात्र बेहोरेको छ।
सन् २०१० पछि पहिलो पटक विश्वकप फाइनल खेलेको स्पेन दोस्रो पटक विश्व च्याम्पियन बन्ने लक्ष्यमा मैदानमा उत्रिएको छ।
यता, कोपा अमेरिका विजेता तथा साविक विश्व च्याम्पियन अर्जेन्टिनाको फाइनल यात्रा भने निकै संघर्षपूर्ण रह्यो। कप्तान लियोनेल मेसीको नेतृत्वमा अर्जेन्टिनाले समूह चरणका तीनै खेल जित्दै नकआउट चरणमा स्थान बनाएको थियो। त्यसक्रममा मेसीले अल्जेरियाविरुद्ध ह्याट्रिक तथा अस्ट्रियाविरुद्ध दुई गोल गर्दै टोलीलाई उत्कृष्ट सुरुआत दिलाएका थिए।
नकआउट चरणमा भने अर्जेन्टिनाले कडा चुनौती सामना गर्यो। अन्तिम ३२ मा केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गरेको अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टविरुद्ध दुई गोलले पछि परेको अवस्था उल्टाउँदै ऐतिहासिक पुनरागमन गरेको थियो। क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा हराएको अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध पनि पुनरागमन गर्दै लगातार दोस्रो पटक विश्वकप फाइनलमा स्थान बनाएको थियो। उक्त खेलमा एन्जो फर्नान्डेज र बेञ्चबाट मैदान प्रवेश गरेका लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका थिए।
अब अर्जेन्टिना लगातार दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्यमा छ भने स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन बन्ने अभियानमा रहेको छ। विश्व फुटबलका दुई शक्तिशाली टोलीबीचको यो फाइनलले नयाँ विश्व च्याम्पियनको इतिहास लेख्ने अपेक्षा गरिएको छ।




प्रतिकृया