एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
प्रकाशित मिति
२०८३ भाद्र १८ गते, बिहीबार ११:५६
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले भोटेकोशी–त्रिशूली बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। एचआईडीसीएलले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमार्फत सहयोग रकम उपलब्ध गराएको जनाएको छ।

भदौ १० गते आएको बाढीबाट रसुवा, नुवाकोटसहित त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको थियो। बाढीले जलविद्युत् आयोजना, विद्युत् प्रसारण तथा वितरण संरचना, सडक, पुल र स्थानीय पूर्वाधारमा समेत गम्भीर असर पुर्याएको छ।

कम्पनीले तत्काल राहतसँगै प्रभावित त्रिशूली करिडोरको पुनरुत्थान र पुनर्निर्माणका लागि दीर्घकालीन वित्तीय स्रोत आवश्यक पर्ने जनाएको छ। यसका लागि एचआईडीसीएलले त्रिशूली करिडोर पुनरुत्थान तथा उत्थानशीलता वित्तीय संरचना विकासमा अग्रणी भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।




प्रतिकृया