भोटेकोशी–त्रिशूली बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख राहत
प्रकाशित मिति
२०८३ भाद्र १८ गते, बिहीबार ०९:१७
१८ भदौ २०८३ काठमाडौं — रसुवाको भोटेकोशी–त्रिशूली बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको प्रहरी नीति निर्माण समितिको बैठकले मृतक प्रहरीका परिवारलाई आर्थिक राहतसँगै शिक्षा, सीप विकास र रोजगारीमा सहयोग गर्ने निर्णय गरेको हो।
बाढीपछि सम्पर्कविहीन रहेका प्रहरी कर्मचारीको खोजीलाई थप प्रभावकारी बनाउन परिवारसँग समन्वय गरी विशेषज्ञसहितको टोली परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ।

त्यस्तै, बाढीमा ज्यान गुमाएका प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गरिने भएको छ। मृतकका परिवारका इच्छुक एक सदस्यलाई सीपमूलक तालिम दिई रोजगारीका लागि आवश्यक पहल गरिने प्रहरीले जनाएको छ।

मृतक प्रहरीका सन्ततिलाई पायक पर्ने प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म निःशुल्क शिक्षा प्रदान गरिनेछ। उच्च शिक्षाका लागि नेपाल प्रहरी आवासीय विद्यालय, साँगा काभ्रेमा शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था गरिने निर्णय भएको छ।
बाढी प्रभावित क्षेत्रमा खटिएका प्रहरी कर्मचारीका व्यक्तिगत सामग्रीमा भएको क्षतिबापत जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराइने भएको छ।यसैगरी, रसुवा बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल प्रहरीले ४० करोड रुपैयाँ प्रदान गर्ने निर्णयसमेत गरेको छ।




प्रतिकृया