रसुवा बाढीपछि बीमा कम्पनीमा २५ अर्ब ८७ करोडको दाबी
प्रकाशित मिति
२०८३ भाद्र १७ गते, बुधबार ०५:१५
१७ भदौ २०८३ काठमाडौं — भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण भएको क्षतिपछि बीमा कम्पनीहरूमा २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँ बराबरको प्रारम्भिक बीमा दाबी परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म ५८३ वटा बीमालेखबाट उक्त रकम बराबरको दाबी परेको हो। बाढीले जलविद्युत् आयोजना, निर्माणाधीन पूर्वाधार, घरसम्पत्ति तथा सवारीसाधनमा ठूलो क्षति पुर्याएपछि बीमा दाबी आउने क्रम बढेको छ।
कुल दाबीमध्ये सबैभन्दा ठूलो हिस्सा इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमातर्फ परेको छ। ५२ वटा बीमालेखबाट मात्रै २० अर्ब ५० करोड ७७ लाख ९० हजार रुपैयाँको प्रारम्भिक दाबी परेको प्राधिकरणले जनाएको छ।

त्यस्तै, सम्पत्ति बीमातर्फ ११३ वटा बीमालेखबाट २ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ र मोटर बीमातर्फ ३१३ वटा बीमालेखबाट १ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको दाबी परेको छ। बीमा कम्पनीहरूले आवश्यक कागजात तथा क्षतिको मूल्याङ्कन पूरा भएपछि दाबी भुक्तानीलाई प्राथमिकतामा राखेर अघि बढाउने बताएका छन्। ठूला जोखिम पुनर्बीमा कम्पनीमा हस्तान्तरण गरिएको हुँदा दाबी भुक्तानीमा समस्या नहुने उनीहरूको भनाइ छ।

दाबी प्रक्रिया छिटो र पारदर्शी बनाउन नेपाल बीमा प्राधिकरणले सर्भेयर परिचालनलाई व्यवस्थित गर्ने तथा दाबी भुक्तानीको दैनिक अनुगमन र सहजीकरणका लागि विशेष कार्यदल गठन गर्ने तयारीसमेत गरेको छ।




प्रतिकृया