प्रधानमन्त्रीले विवादित अभिव्यक्तिबारे जवाफ नदिएसम्म विरोध जारी रहन्छ : सांसद महेन्द्रबहादुर शाही
प्रकाशित मिति
२०८३ असार ३१ गते, बुधबार ०२:३२
३१ असार २०८३ काठमाडौं – नेकपाका सांसद महेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे संसद्मा स्पष्ट जवाफ नआएसम्म विपक्षी दलको विरोध जारी रहने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्रिय हित र सार्वभौमिकतासँग जोडिएको विषयमा सरकार मौन बस्नु उपयुक्त नहुने बताए।
शाहीले नेपाली जनताको मुख्य चाहना भौतिक पूर्वाधार विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय रहेको उल्लेख गर्दै राजनीतिक नेतृत्व मूल मुद्दाभन्दा प्रचारमुखी गतिविधितर्फ केन्द्रित भएको टिप्पणी गरे।

“नेपाली जनताको मुख्य चाहना भौतिक पूर्वाधार विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय हो। तर आज हामी मूल मुद्दाभन्दा सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधितर्फ बढी केन्द्रित भएका छौँ। यस्ता गतिविधिले देश बन्दैन, बरु बर्बादीतर्फ लैजान्छ,” उनले भने। उनले सरकार यही शैलीमा अघि बढिरहे समाज दुर्घटनातर्फ जाने जोखिम दिनप्रतिदिन बढ्दै जाने चेतावनी दिए।

सांसद शाहीले पुराना राजनीतिक दललाई मात्र दोष दिएर उम्किन नसकिने उल्लेख गर्दै वर्तमान सरकारले आफूले गरेका कामको जवाफ जनतालाई दिनुपर्ने धारणा राखे। “पुराना राजनीतिक पार्टीहरूले केही गरेनन्, सबै बिगारे भन्ने भाषण गर्न सजिलो छ। तर आज हामीले के गर्यौँ भन्ने कुराको उत्तर जनतालाई दिन निकै गाह्रो विषय हो,” उनले भने।




प्रतिकृया