बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा निरन्तर
प्रकाशित मिति
२०८३ भाद्र १४ गते, आईतवार १२:३०
काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराइरहेको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा अर्को व्यवस्था नभए सम्मका लागि निरन्तर उपलब्ध गराउने भएको छ ।
यसअघि भदौ १४ सम्मका लागि निःशुल्क भ्वाइस कल र प्रतिदिन २ जीबी डेटा, ५० एसएमएस सुविधा उपलब्ध भइरहेकोमा अब थप समय यो सुविधा व्यवस्था गरिएको हो । कम्पनीले बाढी प्रभावित क्षेत्रका वासिन्दालाई कम्पनीले उपलब्ध गराएको निःशुल्क सेवा आवश्यकता अनुसार उपभोग गर्न अनुरोध गरेको छ ।

बाढीका कारण नेपाल टेलिकमका विभिन्न भौतिक संरचनामा क्षति पुगेको अवस्थामा दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मर्मत–सम्भार गर्न प्राविधिक टोली निरन्तर परिचालन भइरहेको कम्पनीले जनाएको छ ।

यस अनुसार अधिकांश ठाउँमा सेवा सञ्चालनमा छन् भने बाँकी ठाउँमा समेत सञ्चालन गर्ने कार्यमा कम्पनीका प्राविधिक निरन्तर रुपमा खटिरहेको टेलिकमले जनाएको छ । विपद्को यस अवस्थामा नेपाल टेलिकमको सेवा प्रयोगमार्फत सम्बन्धित सबै सेवाग्राहीलाई आफन्तजनसँग सञ्चार सम्पर्क कायम गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।




प्रतिकृया