• १२ भदौ २०८३, शनिबार
  • ९:२० बेलुका

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा सञ्चालन

प्रकाशित मिति

२०८३ भाद्र १३ गते, शनिबार ०९:२०

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित थप सात क्षेत्रमा शुक्रबारदेखि सञ्चार सेवा सञ्चालनमा ल्याएको छ। यससँगै प्रभावित भएका कुल १२० साइटमध्ये ९३ वटा साइट सञ्चालनमा आएका छन्।

नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ। यसबाट उक्त जलविद्युत् आयोजनाको सुरुङमार्गमा भइरहेको उद्धार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क सहज भएको छ। टावर सञ्चालनका लागि आवश्यक सामग्री सवारी साधन तथा भरियामार्फत ढुवानी गरिएको थियो।

Kamana Sewa

रसुवाकै उत्तरगया गाउँपालिकाको कालिकास्थानमा रहेको टावरमार्फत पनि सञ्चार सेवा सञ्चालनमा आएको छ। यसैगरी नुवाकोट जिल्लाको तुप्चे र बुङताङ बीटीएस पनि शुक्रबारदेखि सञ्चालनमा आएका छन्।

Classic Tech Desktop

उक्त टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन हेलिकप्टरमार्फत ढुवानी गरिएको नेपाल टेलिकमले जनाएको छ। यसबाहेक कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावरसमेत सञ्चालनमा आएका छन्।

यसबीच, फिल्डमा खटिएका प्राविधिकहरूको मनोबल उच्च राख्न तथा सेवा सञ्चालन कार्यलाई थप प्रभावकारी बनाउन कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) नुवाकोटलगायत प्रभावित क्षेत्रको अनुगमनमा पुगेकी छन्।

यसअघि उनले नेपाल टेलिकमको बबरमहलस्थित विपद् व्यवस्थापन कक्षको बैठकमा सहभागी हुँदै सेवा सञ्चालन कार्यको प्रगतिबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिएकी थिइन्।

प्रबन्ध निर्देशक पहाडीले अर्थमन्त्री, सूचना तथा सञ्चारमन्त्री, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष तथा सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा नेपाल टेलिकमले प्रभावित क्षेत्रमा गरिरहेको सञ्चार सेवा सञ्चालन कार्यबारे जानकारीसमेत गराएकी छन्।

प्रतिकृया