• १२ भदौ २०८३, शनिबार
  • १:२८ बेलुका

विपद्को चौथो दिन पनि त्रिशूली ३बीमा कार्यरतको अवस्था अज्ञात, परिवार भन्छन्– अब आश्वासन होइन, हामीलाई हाम्रो मान्छे चाहियो

प्रकाशित मिति

२०८३ भाद्र १३ गते, शनिबार ०१:२७

काठमाडौं । त्रिशूली क्षेत्रमा विपद् आएको चौथो दिन बितिसक्दा पनि त्रिशूली जलविद्युत आयोजना ३बीमा कार्यरत व्यक्तिहरूको वास्तविक अवस्थाबारे स्पष्ट र आधिकारिक जानकारी सार्वजनिक हुन सकेको छैन। चार दिनदेखि आफ्ना आफन्तको अवस्थाबारे जानकारीको प्रतीक्षामा रहेका परिवार चिन्ता, पीडा र अन्योलमा छन्।

विपद्पछि त्रिशूली क्षेत्रका विभिन्न स्थानमा उद्धार तथा राहतका गतिविधि भइरहेका समाचार सार्वजनिक भइरहेका छन्। प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन भएको तथा खोज तथा उद्धार कार्य भइरहेको विवरण बाहिर आइरहेका छन्। तर, त्रिशूली जलविद्युत आयोजना ३बीमा रहेका व्यक्तिहरूको अवस्था र उद्धारबारे पर्याप्त तथा स्पष्ट जानकारी सार्वजनिक नहुँदा आफन्तको चिन्ता थप बढेको छ।

Kamana Sewa

यस्तै, ३बी साइटमा कार्यरत ३२ वर्षीय हेमन्तराज जोशी अझै सम्पर्कविहीन रहेको भन्दै परिवारले खोजी तथा उद्धारका लागि अपिल गरेको छ।परिवारका अनुसार बझाङको जयपृथ्वी नगरपालिका–८ स्थायी घर भएका जोशी हाल चन्द्रागिरी नगरपालिका–१० मा बस्दै आएका थिए। उनी चिलिमे जलविद्युत कम्पनीअन्तर्गतको चेस्को कम्पनीमा कार्यरत रही निर्माणाधीन त्रिशूली–३बी जलविद्युत आयोजनाको साइटमा काम गर्दै आएका थिए।

Classic Tech Desktop

विपद्पछि अहिलेसम्म उनी परिवार तथा आफन्तको सम्पर्कमा नआएको परिवारले जनाएको छ। चार दिनसम्म पनि कुनै आधिकारिक जानकारी नआएपछि परिवारमा चिन्ता र पीडा बढ्दै गएको छ। परिवारका तर्फबाट सावित्री जोशी र रमा जोशीले हेमन्तराजको अवस्थाबारे कुनै जानकारी नहुँदा आफूहरू अत्यन्तै पीडामा रहेको बताएका छन्।

परिवारले भनेको छ, ‘चार दिन भइसक्यो। हाम्रो मान्छे कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ भन्ने केही थाहा छैन। हामीले चार दिनसम्म धैर्य गर्‍यौं। उहाँहरूको कुरा पत्यायौं, अझै पनि पत्याएका छौं। तर अब हामीमा त्यो सहन सक्ने अवस्था छैन।’

उनीहरूले सरकारप्रतिको विश्वास अझै कायम रहेको भए पनि चार दिन बितिसक्दा पनि आफ्ना परिवारका सदस्यको अवस्थाबारे स्पष्ट जानकारी नआउनु अत्यन्तै पीडादायी भएको बताएका छन्।

परिवारले ३बी क्षेत्रमा अवस्था जटिल रहेको भन्ने कारण देखाएर उद्धारबाट पन्छिन नमिल्ने बताएको छ। अवस्था जटिल भए राज्यका सबै संयन्त्र परिचालन गरी आवश्यक परे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग लिएर भए पनि खोज तथा उद्धार कार्य तीव्र बनाउनुपर्ने उनीहरूको माग छ।

‘हामीलाई अब आश्वासन मात्र चाहिएको छैन। हामीलाई सही सूचना चाहिएको छ। त्यहाँको वास्तविक अवस्था के हो, हाम्रा मान्छे कहाँ छन्, कस्तो अवस्थामा छन् र उद्धारको काम कहाँसम्म पुगेको छ भन्ने कुरा स्पष्ट रूपमा जानकारी गराउनुपर्‍यो,’ परिवारले भनेको छ।

हेमन्तराजका परिवारले उनीसँगै आफूहरूजस्तै पीडामा रहेका अन्य परिवारका आफन्तलाई समेत सकुशल फर्काउन सरकारसँग तत्काल पहल गर्न आग्रह गरेका छन्।

उनीहरूले उद्धारका लागि आवश्यक सबै स्रोतसाधन तत्काल परिचालन गर्नुपर्ने, आवश्यक परे सुरक्षा निकाय, प्राविधिक जनशक्ति तथा अन्य उपलब्ध संयन्त्र परिचालन गर्नुपर्ने माग गरेका छन्। परिवारले अपुष्ट सूचना वा हल्लाको भरमा बस्नुपर्ने अवस्था अन्त्य गर्दै सम्बन्धित निकायले ३बीमा रहेका व्यक्तिहरूको वास्तविक अवस्था तत्काल सार्वजनिक गर्नुपर्ने जनाएको छ।

‘हामीलाई हाम्रा मान्छे चाहिएको हो। उद्धार सम्भव छ भने छिटो उद्धार गरियोस्। अवस्था जे हो, त्यो हामीलाई भनियोस्। तर चार दिनसम्म पनि अनिश्चिततामा राखिनु हुँदैन,’ परिवारको भनाइ छ। परिवारले हेमन्तराज जोशीलाई कसैले देखेको वा उनीसँग सम्बन्धित कुनै जानकारी पाएको भए तत्काल परिवार वा सम्बन्धित निकायलाई जानकारी गराइदिनसमेत अनुरोध गरेको छ।

विपद्को चौथो दिनसम्म पनि त्रिशूली ३बीमा रहेका व्यक्तिहरूको अवस्थाबारे अन्योल कायमै रहेकाले सम्बन्धित निकायले खोज तथा उद्धार कार्यलाई तीव्र बनाउँदै वास्तविक अवस्था सार्वजनिक गर्नुपर्ने पीडित परिवारको माग छ।

प्रतिकृया