शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८औँ कलेजो प्रत्यारोपण सम्पन्न
प्रकाशित मिति
२०८३ भाद्र १२ गते, शुक्रबार ०७:४६
१२ भदौ २०८३ काठमाडौं – भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८औँ कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ। केन्द्रका अनुसार २०८३ साउन २७ गते धनुषाका ४८ वर्षीय सुरेन्द्र साहको कलेजो प्रत्यारोपण गरिएको थियो। उनलाई उनकी ३५ वर्षीया श्रीमती कृष्ण देवी साहले आफ्नो आधा कलेजो दान गरेकी थिइन्।

प्रत्यारोपण गरिएका साह प्रत्यारोपणको १२औँ दिन अर्थात् भदौ ८ गते सफलतापूर्वक डिस्चार्ज भएका छन्। कलेजो दाता कृष्ण देवी साह भने ११औँ दिनमै डिस्चार्ज भइसकेकी केन्द्रले जनाएको छ।

कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. रामबाबु साहको नेतृत्वमा भएको उक्त प्रत्यारोपणमा केन्द्रका विभिन्न विभागका चिकित्सक, नर्सिङ टोली, प्राविधिक तथा अन्य स्वास्थ्यकर्मी सहभागी थिए।

केन्द्रका अनुसार १४ वर्षको अवधिमा १ हजार ६७९ जनाको मिर्गौला र ३९ जनाको कलेजो प्रत्यारोपण सम्पन्न भइसकेको छ। केन्द्रले उपयुक्त जमिन तथा आफ्नै भवनको अभावका बाबजुद प्रत्यारोपण क्षेत्रमा विश्वस्तरीय सेवा दिँदै आएको जनाएको छ।
केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठका अनुसार केन्द्रले देशमा हुने कुल प्रत्यारोपणमध्ये करिब दुई तिहाइ प्रत्यारोपण गर्दै आएको छ।




प्रतिकृया