बाढीपीडितको सहयोगार्थ आयोगका पदाधिकारीदेखि कर्मचारीसम्मको तलब सहयोग
प्रकाशित मिति
२०८३ भाद्र १२ गते, शुक्रबार ०७:२८
१२ भदौ २०८३ काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको सहयोगका लागि विभिन्न तहका कर्मचारीले आफ्नो तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्। बुधबार बिहान आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि सहयोगस्वरूप उक्त रकम जम्मा गर्ने निर्णय गरिएको हो।
निर्णयअनुसार आयोगका पदाधिकारीहरूले १५ दिनको तलब, राजपत्राङ्कित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले १० दिनको तलब बराबरको रकम कोषमा जम्मा गर्नेछन्।

त्यस्तै, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीले ७ दिनको, राजपत्र अनंकित प्रथम, द्वितीय तथा अन्य श्रेणीका कर्मचारीले ५ दिनको र श्रेणीविहीन कर्मचारीले २ दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ।

आयोगले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, बाढीबाट घाइते तथा अङ्गभङ्ग भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।




प्रतिकृया