३६ घण्टामै विपद् कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग
प्रकाशित मिति
२०८३ भाद्र १२ गते, शुक्रबार ०९:०४
१२ भदौ २०८३ काठमाडौं – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ सहयोग रकम जम्मा भएको छ।अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा उक्त रकम जम्मा भएको हो।
भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि विपद् प्रभावितको राहत तथा उद्धारका लागि व्यक्ति तथा विभिन्न संघसंस्थाले कोषमा सहयोग जम्मा गर्न थालेका हुन्।

सरकारले कोषमा रकम संकलन तथा समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ। संस्थागततर्फ १ करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताको रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफैँमार्फत स्वीकार गर्दै आएका छन्।

नयाँ सहयोगसँगै कोषमा रहेको बचत रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ बचत रहेको थियो। यसअघि बिहीबार ६ घण्टामै निजी क्षेत्रका दाताबाट मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो। कोषमा जम्मा भएको रकममा विभिन्न मित्रराष्ट्रले घोषणा गरेको सहयोग भने समावेश नरहेको मन्त्रालयले जनाएको छ।




प्रतिकृया