सरकारले ल्याएको बजेट सन्तुलित भएपनि कार्यान्वयन चुनौतीपूर्ण भएको एमाले सचिव बिष्टको भनाई
प्रकाशित मिति
२०८१ जेष्ठ २२ गते, मंगलवार ०२:५०
जेठ २२, २०८१ काठमाडौँ: नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारले ल्याएको बजेट सन्तुलित भएपनि कार्यान्वयन चुनौतिपूर्ण रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै उनले अर्थमन्त्री वर्षमान पुनले बजेट सन्तुलित ल्याएको बताए ।
उनले सरकारले करका दर यथावत वा तयारी वस्तुभन्दा कच्चा पदार्थमा पैठारी महशुल कम्तिमा १ प्रतिशत कम गर्नु बजेटको सकारात्मक पक्ष रहेको उल्लेख गरे । सांसद विष्टले चालु खर्च ६१ प्रतिशत,पुँजीगत १९ प्रतिशत,वित्तीय व्यवस्था २० प्रतिशतको जुन कहालि लाग्दो अवस्था देखापरेको बताए ।
उनले यसका लागि सार्वजनिक पुनरावलोकन उच्चस्तरीय आयोगको सिफारिसलाई कार्यान्वयन गर्नको लागि संसदमा साझा सहमतिका साथ अगाडि जान नसके विकास र पुँजीगत खर्च केवल सपनामा मात्रै सीमित हुने अवस्था रहेको दाबी गरे ।
सांसद विष्टले चालु आर्थिक वर्षको अहिलेसम्म ८ खर्ब ७५ अर्ब राजश्व प्राप्त हुँदा आगामी आर्थिक वर्षको लागि १२ खर्ब ६० अर्बको लक्ष्य बढी चुनौतिपूर्ण देखिएको बताए ।
उनले वैदेशिक अनुदानको हिसावले हेर्दा हालसम्म १५ अर्ब मात्रै अनुदान प्राप्त भएको भन्दै आगामी आर्थिक वर्षमा ५२ खर्बको अपेक्षा यथार्थसँग मेल खाने सम्भावना कम रहेको बताए ।
सांसद विष्टले आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब उठाउने अपेक्षा राखिएको भएपनि सरकारले आन्तरिक ऋण बढी लिएको अवस्थामा निजी क्षेत्रमा जाने कर्जा संकुचित हुने, बैंकको ब्याजदर बढ्ने, निजी क्षेत्रले उत्पादनवृद्धि र रोजगारी गर्ने सम्भावना कम हुने भन्दै यो विषयमा अर्थमन्त्री गम्भीर हुन सुझाव दिए ।
उनले बजेटले पाँच उद्देश्य, प्राथमिकता,रणनीति र रुपान्तरणकारी क्षेत्र छुट्याएपनि त्यसको अनुपातमा कार्यक्रममा बजेट विनियोजन कम भएको पनि बताए ।
उनले १६ लाख पर्यटक भित्र्याउने भनिए पनि पर्यटक आउने पूर्वाधारहरू पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रियस्थल चलाउने उद्घोष नभएको भन्दै असन्तुष्ट जनाए ।
उनले सरकारले उत्पादनमुलक क्षेत्रमा लगानी वृद्धि नगरेसम्म ६ प्रतिशतको आर्थिक वृद्धिको सम्भावना पनि कम रहेको बताए ।
प्रतिकृया