• १५:३५ २०८० चैत्र १६ गते
  • 3:35 pm

स्याङ्जा २ को मतगणना अनिश्चित, आयोगको निर्णय पर्खिंदै

प्रकाशित मिति

२०७९ मंसिर ७ गते, बुधबार १२:४६

matgadana 1

७ मंसिर २०७९, काठमाडौँ : मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि आजसम्म स्याङ्जा क्षेत्र नं २ को मतगणना हुन सकिरहेको छैन । वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसे पनि दलहरुबीच सहमति जुट्नाको साटो आ–आफ्नै अडानमा रहेकाले मतगणना सुरु हुन नसकेको हो । निर्वाचन अधिकृतको कार्यालयमा सबै मतदान केन्द्रबाट मतपेटिकाहरु ल्याई सुरक्षित राखिएको स्याङ्जा क्षेत्र नं २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए ।


लोकतान्त्रिक वाम गठबन्धनले तत्काल मतगणना सुरु गर्न दबाब दिइरहेको छ भने नेकपा एमाले लगायत दलहरुले पुनः मतदानको माग गर्दै दबाब दिइरहेका छन् । ‘सर्वदलीय बैठकमा सहमति नजुटेपछि यहाँको परिस्थितिबारे निर्वाचन आयोगमा लेखेर पठाएका छौँ’, उनले भने, ‘हामीले सहमतिका लागि प्रयास ग¥यौँ तर निष्कर्षमा पुग्न सकेनौँ अब आयोगको निर्णयको पर्खाइमा छौँ, त्यहाँबाट जे जस्तो निर्णय आउँछ सोही प्रक्रियाअनुसार अगाडि बढ्छौँ ।’


नेपाली कांग्रेसले स्याङ्जाको चापाकोट नगरपालिका–३, ४ र ५ का चारवटा मतदान केन्द्रमा बुथ कब्जा गरी धाँधली गरेको आरोप एमालेले लगाउँदै ती ठाउँमा पुनः मतदान गर्नुपर्ने माग गरेको छ । कांग्रेस भने विधिसङ्गत प्रक्रिया पूरा भएर निर्वाचन कार्यालयमा सुरक्षित आएको जनताको अभिमतलाई सम्मान गर्दै तत्काल मतगणना गरेर निकास निकाल्नुपर्ने अडानमा छ ।


एमालेलगायत दलहरुले पुनः मतदानको माग गर्दै सडकमा विरोध प्रदर्शन जारी राखेका छन् । कांग्रेसले पनि मतगणना गर्नुपर्ने माग राख्दै निर्वाचन अधिकृतको कार्यालय अगाडि वालिङमा धर्नामा बसेको छ । कांग्रेसका कार्यकर्ताहरु रातभरि नै सडकमै बसेका थिए । दुवै पक्षले निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएपछि सम्भावित घटनालाई दृष्टिगत गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिकृया