काठमाडौंमा मतदान सकिएलगत्तै मतगणना हुने, मेयरबाहेक तीन वडाध्यक्षको परिणाम राति नै आउने
प्रकाशित मिति
२०८१ मंसिर १६ गते, आईतवार १२:२०

मंसिर १६, २०८१ काठमाडौँ: काठमाडौंमा उपनिर्वाचन भइरहेको चार वटै स्थानमा मतदान सकिएलगत्तै मतगणना सुरू हुने भएको छ । कीर्तिपुरको मेयर र वडाध्यक्षको मतगणना कीर्तिपुर नगरपालिका कार्यालयको सभाहलमा र काठमाडौं–१६ को वडाध्यक्षको मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ ।
काठमाडौंका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले मतदान सएिकलगत्तै मतगणना सुरु गर्नका लागि व्यवस्था मिलाइएको बताए । ‘मतदानको अवधि साँझ ५ बजेसम्म हुन्छ, त्यसपछि मतपेटिका संकलन गरी आजैबाट मतगणना सुरू गर्ने तयारी छ,’ उनले भने । तीन वडाध्यक्षको मतपरिणाम रातभरिमा आइसक्ने पनि उनले बताए । ‘कीर्तिपुर मेयरको समय लाग्ला, काठमाडौं-१६ र कीर्तिपुरको दुई वडाध्यक्षको परिणाम रातभरिमा आउन सक्छ,’ उनले भने ।
कीर्तिपुर नगरपालिकामा ३० हजार ३ सय २८ मतदाता रहेकामा ७ सय ८४ जना थपिएर ३१ हजार १ सय १२ पुगेका छन् । आज बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन साँझ ५ बजेसम्म चल्ने छ । निर्वाचन शान्तिपूर्णरुपमा भइरहेको छ । काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्ष, कीर्तिपुर नगरपालिका मेयर तथा कीर्तिपुर–१ र ४ को वडाध्यक्षका लागि आइतबार मतदान भइरहेको छ । काठमाडौं महानगर–१६ मा १० मतदानस्थल र २४ मतदान केन्द्र तोकिएको छ । कीर्तिपुरमा १० वडा, २० स्थल र ३८ केन्द्र छन् ।
प्रतिकृया