निजी बिद्यालयको गुणस्तर अब सरकारीमा पनि हुनुपर्छ: प्राचार्य बुद्धिकुमार घो
प्रकाशित मिति
२०७६ माघ १७ गते, शुक्रबार ०९:५७
मध्यपुरथिमिमा संचालित आदर्श माध्यमिक विद्यालयले २०२१ सालबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयको नतिजा सँधै उत्कृष्ट रहँदै आएको छ । छिमेकी नगरपालिका मध्य राम्रो नतिजा ल्याउन सफल भएको छ । सरकारी विद्यालयले पहिलो पटक अङगे्रजी माध्यमबाट एस.ई.ई दिन तयारी गर्दैछ । पारिवारिक स्थिति कमजोर भएका विद्यार्थीलाई प्रोत्साहन गर्दै आएको आदर्श माध्यमिक विद्यालय नयाँ सोचका साथ अगाडी बढेको छ । धेरै सरकारी विद्यालय समस्यामा गुज्रिएको अबस्था छ । तर “We deserve to change, we deserve to lead” भन्ने उदेश्यका साथ आदर्श विद्यालय अगाडी बढिरहेको छ । हाल मध्यपुर थिमिमा जति पनि निजी विद्यालयका प्रध्यापकहरु छन् ती सबै आदर्शका उत्पादन हुन् । निजी विद्यालयको गुणस्तर अब सरकारीमा पनि हुनुपर्छ भन्ने अठोटका साथ अगाडी बढेको पाइन्छ यो विद्यालय ।यसै सेरोफेरोमा रहेर यसै बिद्यालयका प्राचार्य बुद्धिकुमार घोसँग गरिएको कुराकानीको सार :
सरकारी विद्यालयर्मा सरकारको लगानी वालुमा पानी’ भएको गुनासो सुनिन्छ ? तपाईको नजरमा यसको कारण के होला ?

कतिपय विद्यालयमा पठनपाठनमा कमजोरी भएर पनि सरकारको लगानी वालुवामा पानी भएको गुनासो आएको हो भने केही समस्या व्यवस्थापनको कारणले गर्दा पनि उत्पन्न भएको हो । सरकारी विद्यालय भन्ने बित्तिकै हाम्रो समाजमा गरिबीबाट गुज्रिएको परिवारबाट आउने विद्यार्थी भन्ने बुझिन्छ । श्रम,मजदुरी गर्ने परिवारका बालबालिका सरकारी विद्यालयमा पढ्ने गर्छन् । निम्न पारिवारिक स्थिति भएका, आर्थिक अभावमा बाँच्दै आएका परिवारहरु भएको कारण हुन सक्छ । उनीहरु घरमा समय दिएर नपढेको या पढ्न नपाएको हुनाले गर्दा सोचे जति परिणाम आएको छैन । हाम्रो विद्यालयको हकमा कुरा गर्दा यो भनाइ गलत पुष्टि हुन्छ । हाम्रो विद्यालयमा पठनपाठनदेखि लिएर अतिरीक्त क्रियाकलापमा विद्यार्थीहरु अगाडी छन् । यस कारणले गर्दा लगानीको सहि सदुपयोग भएको अनुभव गरेका छौँ ।

निजी विद्यालयको तुलनामा सरकारी विद्यालय पछाडी पर्नुको कारण के हो ?
निजी विद्यालयमा विद्यार्थीबाट शुल्क उठाइन्छ भने सरकारीमा त्यो हुदैन । निजी विद्यालयको शिक्षकहरुलाई पनि त्यही अनुरुप तलबको व्यवस्था हुन्छ । निजी विद्यालयमा ब्यबस्थापकको अनुशासनमा बसेर काम गर्ने भएकोले पनि उत्कृष्ट छ ।
सरकारी विद्यालयमा भने अबस्था फरक देखिन्छ ,सरकारी तवरबाट बजेट छुट्याएर त्यही अनुरुप तलब दिनु पर्ने हुन्छ, सँगसँगै विकासका काम पनि यहि भित्रबाट गर्नुपर्ने हुन्छ । शिक्षकहरुले लापरवाही मानसिकता बोकेको हुनाले पनि सरकारी विद्यालयको गुणस्तर घटेको हो । सरकारी विद्यालय समस्या भित्र गुज्रेको अबस्था छ । थप कक्षा सन्चालन गर्नुपर्दा त्यसमा पनि अभाव खट्किने हुन्छ । कतिपय शिक्षकहरु मर्यादा भन्दा बाहिर गएर काम गरेको हुनाले पनि यो विषय आलोचित नै छ ।
भक्तपुर समुदायमा प्रख्यात विद्यालयको रुपमा आदर्श विद्यालय चिनिन्छ । मध्यपुर थिमिमा जति पनि निजी विद्यालयका प्रध्यापकहरु छन् ती सबै आदर्शका उत्पादन हुन् । आदर्श विद्यालयको लागि यो गर्वान्वित हुने कुरा हो । हिजोको दिनमा निजी विद्यालयहरु नभएको अबस्थामा समाज सरकारी विद्यालयबाट नै चलेको हो । अहिले समाजमा जति पनि स्थापित राजनीतिक ब्यक्तित्व, न्यायधिस, डाक्टर, इन्जिनियर बनेका छन् ,धेरै मात्रामा आदर्शको प्रोडक्ट हुन भन्दा फरक नपर्ला । विभिन्न संस्थामा आफुलाई अब्वल स्थानमा राख्न सफल भएका छन् । सभासद्हरु पनि धेरै हुनुहुन्छ । सबैलाई शिक्षा दिएर नेतृत्व गर्दै आएको छ । अझै पनि समय परिवेश अनुरुप शिक्षामा सुधार गरेर लैजाने योजना रहेको छ । यसै कारण यो वर्ष देखि हामीले “We deserve to change, we deserve to lead” तय भिबमू भन्ने नारा ल्याएका छौँ । यो थिम अन्तरगत प्रशासनिक काम अगाडी बढाउने छौँ । हरेक विद्यार्थीलाई स्वच्छ प्रतिस्पर्धा गर्न तयार गर्ने उदेश्य रहेको छ ।
अनुभवी शिक्षक सरकारीमा पढाइ भने किन निजी विद्यालयमा राम्रो मानिन्छ नि किन?
सरकारी विद्यालयको शिक्षण पेशामा थाइ जागिर हुदाँ, स्वामित्व भाव देखिन्न । यो मानसिक्ताले गर्दा एक किसिमको लापरवाही देख्न सकिन्छ । कक्षामा नियमित नआइदिने, आएर पनि पढाइ बाहेक अरुमा ध्यान दिने, अन्यथा कुरा गरेर समय बिताउने कारण सरकारीको पढाइ हुने तरिकालाई बदल्न जरुरी छ । उनीहरुलाई तालिमको अभाव भएर पनि हो । सरकारको माथिल्लो निकायबाट नियन्त्रण गर्ने व्यबस्था ल्याउन जरुरी छ । शिक्षाको हकमा अहिले नगरपालिकाले पनि हेर्ने गरेको छ, त्यहाँबाट नियन्त्रण गरियो भने यो समस्या केही कम अवस्य हुनेछ । सरकारबाट नीति नियम बनाएर चुस्त अनुगमन गरिनुपर्छ । राम्रा शिक्षकहरुलाई इन्सेन्टिबको व्यबस्था गराएर नराम्रा शिक्षकलाई नियम अनुरुप सजाय दिन सक्यो भने सुधार गर्न सकिन्छ जस्तो लाग्छ । दण्ड र पुरस्कारको व्यबस्था सुनिश्चित गरियो भने अझ राम्रो भएर जानेछ ।
गत बर्षको परिणाम भन्नु पर्दा हाम्रो विद्यालयबाट ५८ जना विद्यार्थी मध्य २ जनाले ए+ ल्याउन सफल भए । त्यसैगरी ८ जना ले ए र ३२ जनाले बी+ ल्याएका थिए । मध्यपुर थिमि नगरपालिका, सुर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिका मध्य हाम्रो विद्यालयले ३.८५ ले उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । गुणस्तरीय नतिजा ल्याउँदै निजी विद्यालयसँग प्रतिस्पर्धा गर्दै अगाडी बढ्ने योजना रहेको छ । अहिले १ देखि ५ सम्म अङग्रेजी माध्यमबाट पढाउने गर्छौँ । निजी विद्यालय जस्तै हामीले प्ले ग्रुप भनेर शिशु कक्षा र किन्डर गार्डेन भनेर के.जी को कक्षा संचालन गरेका छौँ ।
सरकारी शिक्षकहरुले आफ्नो बालबालिकालाई समेत निजी विद्यालय पठाउछन् जब कि आफु सरकारीमा पढाउँछन् । तपाईको विद्यालयमा यसको प्रभाव कतिको परेको छ ?
यो भनेको नेपालको शिक्षकहरुलाई मात्र नभएर सबै सरकारी कर्मचारीहरुले सरकारी विद्यालयलाई प्राथमिक्तामा राख्नु पर्छ भन्ने मान्यता हो । वर्तमान सरकारले यस्तो नीति ल्याएको खण्डमा हामी सबैले सरकारी विद्यालयमा पढाउनका लागि तयार छौँ । सरकारी विद्यालयलाई निशुल्क मात्रै नभनिएर पुग्ने बजेटको पनि व्यवस्थापन हुनुपर्छ भन्ने मान्यता हो । विद्यालयमा कर्मचारी र पियनलाई पुग्ने तलब पनि दिएको छैन । खानेपानी, भौतिक पुर्वाधारको सुविधा दिनु पर्छ , बजेट विनियोजन गर्दा यी कुराहरुलाई ध्यान दिन सक्यो भने मात्र सरकारीको विकास हुने हो ।
आदर्शको केही शिक्षकका बालबालिकाहरु यही पढ्दै आएका पनि छन् । हामीले यसबारेमा केही ध्यान दिएर छलफल गरिरहेका छौँ । सरकारी तहबाट यो निती ल्याएमा अवश्य पनि हामी त्यही अनुसार अघि बढ्ने छौँ ।
आदर्श विद्यालयमा अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुको सहभागीता कस्तो छ ?
हाम्रा विद्यार्थीको विभिन्न क्रियाकलापमा सक्रिय सहभागीता देखिन्छ । हरेक विधामा सहभागिता जनाउने गरेका छन् । फुटबल, भलिबल, वक्तृत्वकला, हाजिरी जवाफ, नृत्य, कवितामा भाग लिएर सिल्ड तथा प्रमाणपत्रहरु जितेर ल्याउने गरेका छन् । यस पटक पनि विभिन्न संस्थाले आयोजना गरेका कार्यक्रममा प्रथम, दोस्रो, तेस्रो स्थान हासिल गरेर गर्वान्वित बनाएका छन् । स्कुलको र प्लस टु को अलग प्रतियोगिता गराएर प्रोत्साहन गर्ने गर्छौ ।
आदर्श विद्यालयमा शिक्षक र विद्यार्थीहरुको अबस्था कस्तो छ ?
आदर्शमा कुल शिक्षकहरु को संख्या कक्षा १ देखि १० सम्म पढाउने ३५ जना रहेको छ । ११ र १२ का लागि १६ जना हुनुहन्छ जसमा ८ जना बाहिरबाट निजी कलेजको शिक्षक आउनुहुन्छ भने बाँकी विद्यालय भित्रका छन् । यसमा कुल ३५० जना विद्यार्थी रहेका छन् । हामीले चारवटा फ्याकल्टी राखेका छौँ । त्यसमा साइन्स, म्यानेजमेन्ट, हुमानिटिज र ल को कक्षा दैनिक भइरहेको छ । ११ र १२ को कक्षा सञ्चालन गर्न विहान मात्र सम्भव रहेको छ । दिउँसो गराउनको लागि भौतिक पुर्वाधारको अभावले गर्दा हुन सकेको छैन । गत मंसिर महिनाको अनुसार कक्षा १ देखि १० सम्ममा भने ७५४ जना विद्यार्थी रहेका छन् ।
आदर्शमा अरु विद्यालय भन्दा फरक सुविधा के रहेको छ ?
हाम्रो विद्यालय सरसफाईमा अब्वल रहिआएको छ । शौचालयको पनि राम्रो व्यबस्था रहिआएको छ । सबै कक्षामा सि. सि. टिभी जडान गरिएको छ जसका कारण हामीले विद्यार्थीलाई अनुशासनमा राखेका छौँ । शिक्षकहरु नियमित कक्षामा आउनको लागि प्रभाव पारेको छ । कक्षा कोठाको सरसफाई पनि सुधार आएको छ । अनुशासनमा नबस्ने कतिपय विद्यार्थीलाई कार्वाही गरेको कारण पनि उनीहरु सतर्क भएको पाएका छौँ । सामान हराएमा खोज्न मद्दत गरेको छ । कक्षामा मात्र नभएर कम्पाउन्डका साधनमा पनि सुधार आएको छ । विद्यालयका अनावश्यक रुपमा बिग्रिने सामानहरुको अबस्था सुरक्षित रहेको छ । खानेपानीको फिलटरको पनि सुविधा छ । साथसाथै हाल सरकारले एक विद्यालय एक नर्स भन्ने योजना अन्तरगत हामी कहाँ गत माघ २ गतेबाट नर्स आइसकेको अबस्था छ । यसलाई अझै व्यबस्थित गरेर लैजाने योजना बनाएका छौँ । स्वास्थ्य ज्ञानको बारेमा जानकारी दिने साथै चोटपटक लागेमा उपचार गरिन्छ ।
रेडक्रस मार्फत पहिलेबाट स्वास्थ्यको काम गर्दै आए पनि अहिले प्रभावकारी ढङ्गबाट गर्दैछौ । चोटपटक लागेमा, अचानक बिरामी भएमा अप्ठ्यारो परेको छैन । प्रिभेन्टीभ र क्युरेटिभ दुवैको काम भइरहेको छ ।मध्यपुर थिमि नगरपालिकाको शिक्षा शाखाबाट आदर्श विद्यालय सरकारको कोटा भित्र पर्न सफल भएर यो सुविधा पाएको हो । गत वर्षको विद्यार्थीको संख्या, ३ वर्ष देखिको एस.इ.इ परिक्षामा राम्रो परिणाम ल्याउन सफल भएको, भौतिक पुर्वाधार र योग्यताका अनुसार मुल्याङ्कन गरेर आदर्श छनौटमा परेको हो । प्रदेश ३ बाट पहिलो वर्ष २० जना पठाएको थियो भने यो पल्ट १८१ जना रहेको छ । त्यस मध्य गत वर्ष भक्तपुर जिल्लामा १ जना पठाएको थियो भने यसपालि ३ जना, चाँगुनारायण, सुर्यविनायक र मध्यपुर थिमि नगरपालिकालाई १ जनाको दरले पठाएको मध्य आदर्शलाई एक जना परेको हो ।
आदर्श विद्यालयको मुख्य समस्या के छ ?
भौतिक पुर्वाधारको मुख्य समस्या छ । कक्षा कोठाहरुको अभाव छ । उक्त कारणले गर्दा विद्यार्थीहरुलाई थप विषेश कक्षा सञ्चालन गर्न पाइएको छैन । ल्याब सञ्चालन गर्ने कोठा अपुग भएर सुरु गर्न सकेको छैन । स्वास्थ्यकर्मीलाई जाँच कक्ष आवश्यक भएको छ त्यसको व्यबस्था हुन सकेको छैन । पानीको सुविधा भए पनि धारा यहाँसम्म नआएको कारणले समस्या हुन्छ । यो विद्यालय बस्ती भित्र भएको कारणले गर्दा शिक्षकहरुको लागि पार्किङको समस्या भएको छ । गत वर्षको बजेटले हामीले पुरातात्विक ढङ्गबाट एक तल्ला भवन निमार्ण गरिसकेका छौँ । अब दोस्रो तल्ला थप्ने प्रक्रियामा माघ अन्तिमबाट चैत्र भित्र बनाइसक्ने छौेँ । थपेर नगरपालिकाबाट एक लाख भवन निर्माणका लागि बजेट आएको छ । वैशाख महिनाबाट यो समस्या पनि हट्ने आशा गरेका छौँ । गत वर्ष प्रदेश ३ बाट पाएको सहयोगले हामीले १५ हजार लिटरको क्षमता भएको ट्याङ्की बनाएका थियौँ । अप्ठ्यारो परेको अबस्थामा किनेर काम चलाउँछौ ।
आदर्श विद्यालयको आगामी दिनको के योजना रहेको छ ?
यो पटक छ कक्षा देखि १० सम्म अङ्गेजी माध्यमबाट पढाउन सुरु गरेका छौँ । नेपाली र अङ्गेजी दुवै माध्यमलाई बिस्तार गराएर लैजाने उदेश्यका साथ अघि बढिरहेको छौँ । अङगे्रजी माध्यमबाट पढाएको विद्यार्थी पहिलो ब्याच यस पटक एस.इ.इ को तयारी गर्दै छन् । साथै नेपाली माध्यमबाट अध्ययनरत विद्यार्थीको पनि नतिजा राम्रो आउने आशा छ । हामीले राम्रो नतिजाको अपेक्षा गरेका छौँ । कक्षा ८-१० का विद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्ने अभियान लिएर अगाडी बढेका छौँ । यसलाई निरन्तरता दिदै शिक्षाको गुणस्तर बढाउदै प्रगति गराउने लक्ष्य रहेको छ ।




प्रतिकृया