केन्द्रलाई ६ सय ८० जनाको मिर्गौला प्रत्यारोपणमा सफलता
प्रकाशित मिति
२०७६ माघ १७ गते, शुक्रबार ०९:४०
महिनाको एउटा कलेजो पनि प्रत्यारोपण गर्ने तयारी
भक्तपुर, भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले हालसम्म ६ सय ८० जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ, ।
केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रले आर्थिक वर्ष २०७५/७६ मा मात्र १ सय ७९ जनाको मिर्गौला प्रत्यारोपण गरेको बताउनुभयो ।

हप्तामा अधिकतम ६ देखि ८ वटा सम्म मिर्गौला प्रत्यारोपण गर्ने गरेको केन्द्रले केही सयमयता विविध कारणले प्रत्यारोपण सेवामा केही कमी आएको भए पनि पुनः पूर्ण क्षमताका साथ प्रत्यारोपण सेवा सुचारु गर्ने तयारी गरेको निर्देशक श्रेष्ठले बताउनुभयो ।

केन्द्रले कलेजो प्रत्यारोपणमा पनि पाँचौ सफलता हासिल गरेको छ । नेपाललाई मानव शरीरको अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर बनाउने उदेश्यका साथ मिति २०६९ वैशाख ११ गते स्थापना भएको केन्द्रले नेपालमा पहिलोपटक २०७३ साल मंसिर २२ गते ऐतिहासिक कलेजो प्रत्यारोपण सेवा शुरू गरेको थियो ।
केन्द्रका निर्देशक डा. श्रेष्ठले कलेजो दान गर्नेहरुको संख्या न्युन हुँदा केन्द्रमा अपेक्षाकृत कलेजो प्रत्यारोपण गर्न नसकिएको बताउनुभयो ।केन्द्रले अब देखि कम्तिमा महिनाको एउटा कलेजो प्रत्यारोपण गर्ने तयारी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । हरेक वर्ष नेपालमा करिब १ हजार जनाभन्दा बढीको कलेजो फेल हुने अनुमान गरिएको छ।
नेपालमा करिब २० लाख रुपियाँमा कलेजो प्रत्यारोपण हुने गर्दछ भने भारत तथा अन्य विकसित देशहरूमा कलेजो प्रत्यारोपण गर्दा करिब १ करोडदेखि डेढ करोडसम्म खर्च लाग्ने अनुमान छ ।
एक अध्ययनका अनुसारका नेपालमा करिब ८ लाख मानिसमा कलेजोसम्बन्धी केही न केही रोग लागेको देखिन्छ भने करिब १० हजार जनामा कलेजोसम्बन्धी गम्भीर रोग लाग्ने गरेको छ । केन्द्रले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला तथा कलेजो प्रत्यारोपण पनि सफलता प्राप्त गरि सकेको छ ।




प्रतिकृया