अनुमतिबिनै विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थामाथि मन्त्रालयको निगरानी, सूचना दिन आग्रह
प्रकाशित मिति
२०८३ असार २६ गते, शुक्रबार ०९:२८
२६ असार २०८३ काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले अनुमति नलिई ए लेभल (A-Level), सीबीएसई (CBSE), आइबीडिपी (IBDP) लगायतका विदेशी विद्यालय तहका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाबारे जानकारी उपलब्ध गराउन आम नागरिक तथा सरोकारवालासँग आग्रह गरेको छ।
मन्त्रालयअन्तर्गत विद्यालय शिक्षा शाखाले सूचना जारी गर्दै विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिएर सञ्चालन हुने यस्ता शैक्षिक कार्यक्रम नेपालमा सञ्चालन गर्नुअघि मन्त्रालयबाट अनिवार्य रूपमा अनुमति लिनुपर्ने कानुनी व्यवस्था रहेको स्पष्ट पारेको छ।

मन्त्रालयका अनुसार केही शैक्षिक संस्थाले आवश्यक अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको तथा अनुमति प्राप्त नगरेको अवस्थामा पनि अनुमति लिएको भन्दै प्रचारप्रसार गरेर विद्यार्थी र अभिभावकलाई भ्रममा पारिरहेको जानकारी प्राप्त भएको छ।

यस्तो कार्य कानुनविपरीत भएको भन्दै मन्त्रालयले सम्बन्धित सबै शैक्षिक संस्थालाई प्रचलित कानुनी व्यवस्था पालना गर्न आग्रह गरेको छ। साथै, अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका संस्थाबारे जानकारी भएमा विद्यालय शिक्षा शाखाको इमेल [email protected] मा तीन दिनभित्र लिखित रूपमा जानकारी उपलब्ध गराउन मन्त्रालयले सबै सरोकारवालासँग अनुरोध गरेको छ।




प्रतिकृया