• ४ साउन २०८३, सोमबार
  • २:१९ बिहान

बैतडीमा १९ हजार मत बदर

प्रकाशित मिति

२०७९ मंसिर १४ गते, बुधबार ०२:४२

१४ मंसिर २०७९, काठमाडौँ : यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बैतडीमा करिब १९ हजार ७७१ मत बदर भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिक गरी सो सङ्ख्यामा मत बदर भएका हुन्। प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ ७७ हजार ४६० मत खसेका थिए। जसमध्ये चार हजार ९६२ मत बदर भएका छन्। प्रदेशसभा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ ४० हजार १५५ मत खसेकामा दुई हजार १३ मत बदर भए। प्रदेशसभा क्षेत्र नं २ मा प्रत्यक्षतर्फ ३७ हजार २८० मत खसेकामा एक हजार ८२० मत बदर भएका छन्।


प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ ७७ हजार ७६१ मत खसेकामा पाँच हजार ४२१ मत बदर भएका छन्। प्रदेशसभा सदस्य समानुपातिकतर्फ ७७ हजार ४२३ मत खसेकामा पाँच हजार ५५ मत बदर भएका छन्। मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नहुँदा यति धेरै सङ्ख्यामा मत बदर भएका हुन्।

Kamana Sewa

जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुँयाल भने मतदाता शिक्षा प्रभावकारी भएको दाबी गर्छन्। उनले भने, ‘काठमाडौँजस्ता सहरमा पनि मत बदर भइरहेका छन्, यहाँ त यो सङ्ख्यामा मत बदर हुनु स्वाभाविक हो। मतदाता शिक्षा प्रभावकारी नभएको भन्न मिल्दैन।’ धेरैजसो बदर भएको मत एउटै मतपत्रमा रहेका दुई वा दुईभन्दा बढी चुनाव चिह्नमा स्वस्तिक छाप लगाएको भेट्टिएको फुँयालले बताए।

Classic Tech Desktop

उनले भने, ‘केही मतपत्रमा औँठाको छाप लगाएको भेट्टिएर बदर भएका छन् भने अधिकांशमा दुई वा दुईभन्दा बढी चिह्नमा छाप लगाएको पाइयो।’ यहाँका सबै वडामा स्वयंसेविका परिचालन गरेर १५ दिन समुदायस्तमै पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो। बैतडीमा एक लाख ५० हजार एक सय ५६ मतदाता रहेकामा ७७ हजार ४६० मतमात्रै खसेका थिए।


प्रतिनिधिसभाका लागि एक र प्रदेशसभा सदस्यका लागि दुई क्षेत्र रहेको यस जिल्लामा २२ उम्मेदवार चुनावी मैदानमा रहेका थिए। यहाँ प्रतिनिधिसभामा नेकपा एमालेका दामोदर भण्डारी तथा प्रदेशसभा क्षेत्र नं १ मा एमालेकै सुरेन्द्र पाल र प्रदेशसभा क्षेत्र नं २ मा नेपाली कांग्रेसका शिवराज भट्ट विजयी भएका छन्।

प्रतिकृया