पोखरा विश्वविद्यालय, व्यवस्थापन अध्ययन संकायको स्नातक र स्नातकोत्त तहमा नयाँ पाठ्यक्रमहरु लागू
प्रकाशित मिति
२०८१ मंसिर ८ गते, शनिबार ०७:४८
मंसिर ८, २०८१ काठमाडौँ: पोखरा विश्वविद्यालय, व्यवस्थापन अध्ययन संकाय अन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रमहरु मध्ये स्नातक तहमा बिबिए, बिबिए (फाइनान्स) र बिबिए (ट्राभल एण्ड टुरिज्म) र स्नातकोत्तर ञतहमा एमबिए, एमबिए (फाइनान्स) र एमबिए (ग्लोबल बिजनेस) का पाठय्क्रमहरु यसै शैक्षिक सत्र २०२४ फलबाट लागु हुने गरी नयाँ परिमार्जित र परिष्कृत गरिएको छ । साथै विएचएम र बिसिएसआइटी कार्यक्रमहरुका नयाँ पाठ्यक्रमहरु गत शैक्षिक सत्र २०२३ फल देखि नै लागु भई पठनपाठन भईरहेका छन् ।
हालको विद्यमान बदलिँदो विश्व परिवेश, आर्थिक, सामाजिक, व्यावसायिक र प्राविधिक गतिविधिहरुलाई मध्यनजर गर्दै वर्तमान र आगामी केही वर्षमा नेपाल लगायत विश्व जगतमा व्यवस्थापन, व्यापार, उद्यमशीलता र अन्य व्यवसायहरुको लागि दक्ष मानव संसाधन उत्पादन गर्ने नयाँ पाठ्यक्रमहरु मुख्य उद्देश्य रहेको छ । हाल लागु गरिएका स्नातक तहका पाठ्यक्रमहरुमा प्रत्येक सेमेष्टरमा प्रयोगात्मक र व्यावहारिक ज्ञानको लागि प्राक्टिकम कोर्षहरु, प्रोजेक्ट वर्क र कम्युनिटी इङगेजमेन्ट प्रोजेक्ट जस्ता कोर्षहरु समावेश गरिएको छन् । अन्तिम आठौं सेमेष्टरमा इन्टर्नशीप राखिएको छ र सो सेमेष्टरमा कलेजमा हाजिर हुनेगरी कुनै पनि कोर्ष राखिएको छैन् । यसरी कलेज आउनु नपर्ने हुँदा सातौँ सेमेष्टर पछि विद्यार्थीहरु इन्टर्नशीप सहित रोजगारीमा वा व्यवसायमा आवद्ध हुन सक्छन् । साथै इन्टर्नशीपको लागि आफु अध्ययन गरिरहेको कलेज भन्दा अन्य टाढाको स्थान तथा विदेशमा समेत गई अनुभव लिन सक्छन् । यो विद्यार्थीहरुका लागि अति नै उपयोगी, रोजगारीमूखी र व्यवसायमूखी हुन्छ । स्नातक तहमा जम्मा १२० क्रेडिट आवरको कोर्ष, प्रयोगात्मक सिकाई, प्रोजेक्ट र अनुसन्धानमूलक कार्यहरु गराईन्छ । यस तहमा ४२ महिना कलेजको कोर्ष वर्क र ६ महिनाको इन्टर्नशिप गरी जम्मा ४८ महिनामा अध्ययन पूरा हुन्छ ।
नयाँ पाठ्यक्रम परिमार्जन गर्दा बिबिए–बिआई कार्यक्रमलाई बिबिए (फाइनान्स) नामाकरण गरिएको छ । यस कार्यक्रममा फाइनान्समा विशिष्टिकरण कोर्षहरु अनिवार्य हुनुको साथसाथै बैंकिङ्ग, बिमा, कर्पाेरेट फाइनान्स र पूँजी बजार मध्ये कुनै दुईवटा विधामा विशिष्टिकरण गर्न सकिन्छ । स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरु एमबिए, एमबिए (फाइनान्स) र एमबिए (ग्लोबल बिजनेस)मा बजारको आवश्यकता अनुसारका नयाँ कोर्षहरु राखिएको छ ।
साथै प्राक्टिकल र सेमिनार कोर्षहरु थपिएको हुँदा प्रयोगात्मक र व्यावहारिक शिक्षालाई जोड दिइएको छ । यी कार्यक्रमहरुको अध्ययनको सिलसिलामा इन्डष्ट्री अथवा रिसर्च मध्ये एउटा बाटोमा रोज्न पाईन्छ । जुन नेपालको व्यवस्थापन शिक्षामा नयाँ प्रयोग हो । इन्डष्ट्री विधामा विद्यार्थीहरुले उद्यमशिलता विकाससँगै नवउद्यम प्रवर्द्धन गर्न सहयोग पुग्दछ । रिसर्च कार्य पनि गहन र विस्तृत तरिकाबाट सिकियोस् भन्ने हेतुले यसलाई ६ क्रेडिट आवरको गरिएको छ । यसरी स्नातकोत्तर तहमा पनि इन्टर्नशिपलाई विशेष प्राथमिकता दिईएको छ । इन्टर्नशिप अन्तिम छैटौं ट्राइमेष्टरमा राखिएको छ र यस ट्राइमेष्टरमा कुनै पनि कोर्ष नराखिएको हुँदा सिधै रोजगार अथवा व्यवसायमा जान सकिन्छ । साथै स्वदेश तथा विदेशको कुनै पनि ठाउँमा गएर इन्टर्नशिप गर्न सकिने हुँदा अझ सहज हुन्छ । स्नातकोत्तर तहमा जम्मा ६० प्रतिशत क्रेडिट आवरको कोर्ष, प्रयोगात्मक सिकाई, प्रोजेक्ट र अनुसन्धानमूलक कार्यहरु गराईन्छ । त्यसैगरी स्नातकोत्तर तहमा २० महिनाको कलेजको कोर्ष वर्क र ४ महिनाको इन्टर्नशिप सहित जम्मा २४ महिनामा अध्ययन पूरा हुन्छ ।
स्नातकोत्तर तहमा सबै कार्यक्रमहरु बिहानी, दिउँसो वा साँझको समयमा सञ्चालन गर्न सकिने छन् । क्रेडिट प्रणालीबाट कक्षा भारहरु निर्धारण गरिएको हुँदा पहिले नै व्यवसायिकतामा संलग्न तथा जागिर गरिरहेका विद्यार्थीहरुको लागि पनि यी कार्यक्रहरुको कक्षा समयभार अनुकुल हुने गरि निर्धारण गरिएको छ । नेपालमा पोखरा विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत मात्र ट्राइमेष्टर प्रणालीमा एमबिए, एमबिए (फाइनान्स) र एमबिए (ग्लोबल बिजनेस) कार्यक्रमहरु अध्ययन अध्यापन गराईन्छ । यो नेपालको अन्य कुनैपनि विश्वविद्यालयमा पाइदैन । यसरी ४ महिनाको एक ट्राइमेष्टर र २ वर्षमा ६ ट्राइमेष्टर हुँदा एक क्रेडिट आवर र दुई क्रेडिट आवरका छोटा छोटा तर समय सान्र्दभिक कोर्षहरु लगायत ३ क्रेडिट देखि ६ क्रेडिट आवरसम्मका गहन कोर्षहरु समेत समावेश गरिएका छन् । स्नातक तहका हरेक कार्यक्रमहरुमा करिब ३० प्रतिशत क्रेडिट आवरका कोर्षहरु र स्नातकोत्तर तहमा करिब ८० प्रतिशत कोर्षहरु सम्बन्धित स्कुल-कलेजहरुलाई नै स्वायत्त तरिकाले सञ्चालन गर्ने व्यवस्था रहेको छ ।
यो व्यवस्था नेपाली विश्वविद्यालयहरु मध्ये पोखरा विश्वविद्यालयमा मात्र रहेको छ । यसरी स्वायतत्ता प्रदान गरिदा बदलिँदो र बजारको माग अनुसार पाठ्यक्रममा नयाँ कुराहरु समावेश गर्न सकिने, घोकन्ते र परीक्षामुखी सिकाई भन्दा व्यावहारिक, सीपयुक्त, सहभागितामूलक र वर्तमान बजारको आवश्यकता अनुसारको सिकाईमा जोड दिइन्छ ।
स्नातक तथा स्नातकोत्तर तहका प्रत्येक कार्यक्रमहरुमा बढीमा २५ प्रतिशत सम्म स्वदेशी वा विदेशी विश्वविद्यालयबाट अध्ययन गरी आएका मिल्दा कोर्षहरुको डिन अफिसबाट स्विकृति लिई क्रेडिट ट्रान्सफर गर्न सकिन्छ । साथै यी नयाँ पाठ्यक्रमहरु समय र बजारको माग अनुसार परिष्कृत र परिमार्जित छन् । यसले व्यापार, व्यावसाय गर्न, दक्ष र कुशल व्यवस्थापकहरु निर्माण गर्न र समग्र अर्थतन्त्रको विकासको
लागि योगदान पुग्नेछ ।
प्रतिकृया