गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित
प्रकाशित मिति
२०८० फाल्गुन १० गते, बिहीबार ०२:५९
फागुन १०, २०८० काठमाडौँ: गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बिहीवार बसेको प्रतिनिधि सभाको बैठकम गणपूरक संख्या नपुगेपछि शुक्रवारसम्मका लागि स्थगित भएको हो । गणपूरक संख्या नपुगेपछि राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० सभामा प्रश्तुत हुन सकेन ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठको तर्फबाट रोष्टममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले विधेयक प्रश्तुत गर्दै गर्दा एमाले सचेतक महेश बर्तौलाले संसदमा गणपूरक संख्या यकिन गर्न माग गर्नुभएको थियो । सभामुख देवराज घिमिरेले नेपालको संविधानको धारा ९४ बमोजिम कुनैपनि प्रश्न वा प्रश्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको १ चौथाइ सदस्य उपस्थित हुनुपर्ने बताउँदै ३ मिनेट जनाउ घण्टी बजाई सो संख्या यकिन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको थियो ।

गणपूरक संख्या पुग्न एक चौथाइ अर्थात ६९ जना सांसद हुनुपर्नेमा ६५ जना मात्र भएपछि सभामुख घिमिरेले शुक्रवार बिहान ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा गर्नुभयो ।





प्रतिकृया