हरेक व्यक्तिले सकारात्मक सोंच लिई आफ्ना दुःखका कुराहरु विर्षेर आफ्नो काममा लगनशिल भएर अगाडि बढ्नुपर्दछ : डा. सागर राज भण्डारी (भिडियो)
प्रकाशित मिति
२०७९ चैत्र १२ गते, आईतवार ०२:०७
डा. सागर कुमार राजभण्डारी नेपालका अनुभवी र लोकप्रिय स्वास्थ्य क्षेत्रको जेनरल प्रयाक्टिशनर हुन् । उनको जन्म बाग्लुङ जिल्लामा वि.स. २०१९ सालको कोजाग्रत पूर्णिमाको दिन भएको हो । उनी मध्यम परिवारमा हुर्केका हुन् । सानैदेखि पढाईमा तीक्ष्ण बुद्धि भएका राजभण्डारी बुबाआमालाई आफ्नो सफलताको श्रेय मान्दछन् । उनी ७ महिनामा जन्मेका थिए र जन्मदा उनको वजन डेढ किलो मात्रै थियो । त्यस्तो अवस्थामा जन्मेर अहिले चिकित्सक बनी देशको सेवा गर्न पाएकोमा उनी गर्व महशुस गर्दछन् । उनको डाक्टर बन्नुको पछाडिको पृष्ठभूमि, आफ्ना संघर्ष, आफ्नो प्रेरणाको श्रोत र जीवनशैली आदि सेरोफेरोमा रहेर मातृभूमिन्यूजका सम्पादक मनोजराज रेग्मीले उनीसँग गरेको प्रत्यक्ष अन्तर्वार्ताको सम्पादित अंश ।
तपाईको जन्म कहाँ भयो र तपाईको बाल्यकाल कसरी कहाँ वित्यो, त्यसको बारेमा केही प्रकाश पारिदिनुहुन्छ कि ?
म मध्यम वर्गीय परिवारमा जन्मिएको मानिस हुँ । म वि.स. २०१९ साल कोजाग्रत पूर्णिमाको दिन बाग्लुङमा सात महिनामा जन्मिएको हुँ । म जन्मिदा मेरो वजन डेढ किलो मात्र थियो । मलार्ई हुर्काउनको लागि बुबा आमा र हजुरआमाले निकै दुःख गर्नु प-यो । ७ महिनामा जन्मिएर पनि अहिले चिकित्सक बनेर देशको सेवा गरिरहन पाउँदा मलाई गर्व लाग्दछ ।
शिक्षा दिक्षाको कुरा गर्दा खेरि घरको नजिकै बाग्लुङको उपल्लो चौरमा रहेको स्कुलमा प्रारम्भिक शिक्षा भएको थियो । त्यसबेला हामीले कपीमा भन्दा पनि पाटीमा लेख्ने गर्दथ्यौं । त्यसपछि स्लेटमा लेख्न थाल्यौं । त्यतिबेला हामीसँग बेन्च हुँदैनथ्यो । स्कूल जाँदा बोरा वा चकटी लिएर जानुपर्दथ्यो । अनि जहाँ जहाँ घाम लाग्दथ्यो त्यहीं त्यहीं सर्दै पढ्ने गर्दथ्यौं । हामी दिनभरिमा २०० मिटर सर्दथ्यौं, घामको न्यानोका लागि ।
त्यो पार भैसकेपछि मैले २ कक्षा देखि ३ कक्षा सम्म त्यही स्कूलमा पढे । म कहिल्यै पनि कक्षामा दोश्रो हुनु परेन । सँधै पहिलो हुन्थे । ४ कक्षामा बाग्लुङकै कम्पुटरमा रहेको स्कूलमा पढ्ने मौका पाएँ । त्यतिबेला शिक्षकको आन्दोलन पनि चलेको थियो । मैले ५ कक्षा पढ्दा आफूभन्दा तलका भाइबहिनीहरुलाई साइन्स र अंग्रेजी पढाउँथे । त्यसपछि त्यहाँबाट पास गरिसकेपछि विद्यामन्दिर हाइस्कुल जुन बाग्लुङको सबैभन्दा पुरानो स्कुल हो, त्यहाँ मैले ६ कक्षादेखि १० कक्षासम्म पढें । वि.स. २०३४ सालमा मैले एसएलसी पास गरें । फस्र्ट डिभिजनमा पास गरें ।
८, ९ र १० कक्षामा मैले कुखुरा पालन पनि पढेको थिएँ । प्रयाक्टिकल क्लासमा हामीले कुखुराको इन्कुबेटर पनि गराउने गर्दथ्यौं । तापक्रम मिलाएर कुखुराको अण्डाबाट चल्ला निकाल्ने काम गर्दथ्यौं । हरेक शुक्रवार कुखुरालाई काटेर विभिन्न अंग तथा भागहरुको अध्ययनहरु गर्ने काम गर्दथ्यौं । वि.स. २०३५ मा मैले महाराजगंजको क्याम्पसमा एचए अध्ययन गर्ने मौका पाएँ । अध्ययन गरेको केही समयपछि शैक्षिक आन्दोलन शुरु भयो । अनि हाम्रो अढाई वर्षको पढाई तीन वर्षसम्म पुग्यो । वि.स. २०३९ सालमा पास गरिसकेपछि व्यापारीको छोरो जागिर खान मन नलागेर केही समयसम्म बुबाको व्यवसायमा केही सहयोग गरे ।
पछि यत्रो लगानी गरेको कुरा जनतामा सेवा दिनुपर्दछ भन्ने सोंची वि.स. २०४१ साल असार २५ गते देखि रानखाने बाग्लुङ हेल्थपोस्टमा जागिर खान थालें । त्यो मेरो जागिरको पहिलो अनुभव थियो । मेरो हजुरबुबा सरकारी जागिर खानुहुन्थ्यो, त्यसपछि नातीले सरकारी जागिर खान थाल्यो ।
मेरो बुबा व्यापारीको साथसाथै राजनीतिकर्मी पनि हुनुहुन्थ्यो । त्यो हेल्थपोस्ट रहेको घर खरको छानाले बनाएको घर थियो । हेल्थपोस्ट वरिपरि कुनै पर्खाल पनि थिएन, पानी पनि थिएन, शौचालय पनि थिएन । त्यतिबेला इन्जेक्सनको नीडलहरुलाई उमाल्नु पर्दथ्यो । त्यस्तो अवस्थामा हामीले काम गथ्र्यौ । बिहान ८ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म मजाले काम गथ्र्यौ । त्यही क्रममा मैले बाग्लुङ अस्पतालमा पनि काम गर्ने मौका पाएँ । त्यसपछि मैले सोभियत संघमा छात्रवृत्ति पाएँ र एमबीबीएस सोभियत संघमा अध्ययन गर्ने मौका पाएँ । त्यहाँ ७ वर्ष व्यतित गरेपछि म नेपाल फर्केर वि.स. २०५२ सालदेखि चिकीत्सा सेवामा प्रवेश गरें र अहिलेसम्म १५, १६ वटा जिल्लामा सेवा पु¥याएको छु । धौलागिरी अंचलको बाग्लुङ, म्याग्दी र पर्वतको स्वास्थ्य संस्थाको प्रमुख भएर काम गर्ने मौका पाएँ, जुन इतिहासमा पहिलो पनि हुन सक्दछ । तीनै अस्पतालमा मैले देखिने गरी काम गर्ने मौका पाएको छु ।
एउटा बच्चा जन्मेदेखि तपाई जस्तो महान डाक्टर बन्नु निकै ठूलो कुरा हो र यसमा तपाईले संघर्ष पक्कै गर्नुभएको छ । आफ्नो शिक्षा, बुबाआमाको शिक्षा र अथक आफ्नो मिहिनेत पछि डाक्टर बन्नुभएको हो । यसबारेमा केही प्रकाश पार्नुहुन्छ कि ?
सबैभन्दा पहिले म ७ महिनामा जन्मेको मान्छे, मेरो बुबा, आमा, हजुरआमा, हजुरबुबा, अंकल, अन्टीले जुन परिश्रम गर्नुभयो त्यसको लागि मैले हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । उहाँहरुको कारणले म हुर्कन सफल भएँ, जिउन सफल भएँ । अर्को कुरा म मेरो घरमा धौलागिरी अंचलको सबैभन्दा पुरानो किताब पसल थियो । अध्ययनशिल भएकोले मैले सानै देखि साहित्यमा रुचि राख्दथे र धेरै किताबहरु पढ्थे । त्यसले गर्दा मलाई साइन्स पढ्नुपर्दछ भन्ने उत्प्रेरणा जाग्यो । अध्ययन गर्ने क्रममा मैले कुखुरा पालन पढेको थिएँ । सो अध्ययनका क्रममा कुखुरालाई चिरफार गर्नुपर्दथ्यो । रोगव्याधहरु पनि देखिन्थे । त्यसले गर्दा मलाई चिकित्सक बन्नुपर्दछ भन्ने प्रेरणा जाग्यो र हेल्थ असिस्टेन्ट पढ्नुपर्दछ भन्ने लाग्यो । एचएको पढाई डाक्टर बन्नको लागि एउटा गेटवे थियो, त्यसलाई मैले समाते र अघि बढे । त्यही अवसरमा हेल्थ असिस्टेन्ट बनेर देशको सेवा गर्ने मौका पाएँ । विभिन्न कठिन परिस्थितिमा पनि कसरी देशको सेवा गर्न सकिन्छ भन्ने मैले अनुभव बटुलें । हेल्थ असिस्टेन्ट मात्र बनेर हुँदैन, जिम्मेवार चिकित्सक बन्नुपर्दछ भनेर छात्रवृत्ति प्राप्त गरे । त्यो अवसर लिईसकेपछि नेपालका विभिन्न अस्पतालहरुमा विभिन्न कठिनाई भएको बेलामा पनि जनतालाई सेवा दिएँ । यो सेवा दिने अवसरलाई मान्नुपर्दछ । त्यसपछि देश विदेशमा विभिन्न किसिमको तालिमहरु लिने मौका प्राप्त गरें ।
त्यस्तै नेपालको पहिलो पटक क्षयरोग विरुद्ध डट्स विधिबाट उपचार गर्ने पद्धतिमा पाइलट जिल्ला नवलपरासीमा कार्यक्रम शुरु भयो, त्यसमा पनि मैले जिम्मेवारीपूर्वक कार्य गर्ने मौका पाएँ । त्यस्तै नेपालका धेरै अस्पतालहरुमा आफ्नो स्रोत साधनले भ्याएसम्म आफ्नो सीपले भ्याएसम्म दिनरात नभनी सेवा गर्ने मौका पाएँ । मैले विभिन्न किसिमका तालिमहरु पनि लिएँ । त्यस्तै मैले जापानमा टिवी सम्बन्धी तालिम लिने मौका पाएँ । त्यसपछि नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको छात्रवृत्तिमा एमडीजीपी मास्टर्स लेभलमा अध्ययन गर्ने मौका पाएँ, त्यो अध्ययन गरेपछि मैले धेरै भन्दा धेरै जिल्लाहरुमा मेडिकल जेनरलिस्ट र कन्सल्टेन्टको रुपमा धेरै जिल्लाहरुमा सर्जिकल सेवादेखि लिएर, औषधि सेवादेखि लिएर सबै प्रकारका सेवाहरु दिने मौका पाएँ । त्यो सफलता पाउन उपयुक्त वातावरण पनि चाहिन्छ, घर परिवारको सहयोग, साथीभाईको सहयोग, त्यस्तै मैले काम गर्ने दौरानमा धेरै बिरामीहरुको मायाँ, स्नेहले पनि ठूलो भूमिका खेलेको हुन्छ त्यसले मलाई उच्च शिक्षामा जानुपर्दछ भन्ने उत्प्रेरणा जाग्यो ।
प्रत्येक मानिसको जीवनमा कसै न कसैको गहिरो प्रभाव परेको हुन्छ ? तपाईको जीवनमा बुबाआमा बाहेक कसको बढी प्रभाव परेको थियो ?
विशेष प्रभाव पक्कै पनि हुन्छ । मैले कैयौं डाक्टरहरुको जीवन कहानी पनि अध्ययन गर्दथे, उहाँहरुले गरेको योगदानको अध्ययन गर्दथे । ती अध्ययनबाट र आफूले पनि समाजमा देखेर डाक्टर बनेर दुःखमा पिल्सिएका जनताहरुको लागि केही गर्नुपर्दछ भन्ने चेतना जाग्यो । मैले अहिले पनि निमुखा, गरीब, असहाय जनताहरुलाई कसरी सेवा पु¥याउन सकिन्छ भन्ने चिन्तनमा हुन्छु ।
तपाईलाई डाक्टर नै बन्नुपर्दछ भन्ने प्रेरणा कसरी र किन आयो ? डाक्टर बन्नु पछाडिको श्रेय कसलाई दिन चाहनुहुन्छ ?
डाक्टर बन्नुपर्दछ भन्ने प्रेरणा अन्र्तमनबाट नै आएको हो । कसैको कर र दबाबले म बनेको होइन । खास गरेर यसरी अध्ययन गर्ने क्रममा जब म स्वास्थ्यकर्मी बनें, जनताले पाएको दुःख, व्यथा मैले उपचार दिएपछि उहाँहरुलाई राम्रो भयो, ती सबै कुराहरुलाई मनन गरेर नै मैले चिकित्सक बन्ने निर्णय गरें । एचए पढ्ने प्रेरणा कसरी आयो भन्ने प्रश्न गर्दा उनले भने कि “जब मैले पोल्ट्री विषय पढेको थिएँ, त्यतिबेला चराहरुमा जब रोग लाग्दथ्यो, हामीले चिरफार गर्दथ्यौं र रोगको डाइग्नोसिस पनि गथ्र्यौ, त्यतिबेला चिरफार सम्बन्धी रुचि जाग्यो । अर्को कुरा म सानै उमेरदेखि अस्पताल जान्थे । अस्पतालमा चिकित्सकले कसरी उपचार गर्दा रहेछन्, कसरी सुई लगाउँदा रहेछन्, त्यस सम्बन्धी मलाई रुचि जाग्थ्यो । त्यसपछि म पनि बन्नुपर्दछ भन्ने भावना जाग्यो र तदनुरुप हेल्थ असिस्टेन्ट बने र त्यसपछि म उपचारमा संलग्न भएँ । उपचारमा संलग्न भैसकेपछि बिरामीहरुको समस्याहरु देखें, झेलें, मेरो उपचारबाट उहाँहरुलाई कति राम्रो भयो, उहाँहरुको आशिर्वादले उहाँहरुको मायाँले गर्दा खेरि अनि मलाई अब म हेल्थ असिस्टेन्ट मात्र होइन कि उपल्लो तहको चिकित्सक नै बन्नुपर्दछ भन्ने भावना आयो ।
अहिले सम्म कुन कुन अस्पतालमा काम गर्नुभयो भन्ने प्रश्नमा उनले भने, “अहिलेसम्म मैले नवलपरासीको पृथ्वी चन्द्र अस्पतालमा काम गरें, बुटवलको लुम्बिनी अंचल अस्पतालमा काम गरें, त्यसपछि द्धन्द्धकालमा सल्यानको सल्यान अस्पतालमा काम गर्ने मौका पाएँ । द्धन्द्धकालमा केही गाह्रो भयो कि भन्ने प्रश्नमा उनले भने, “काम गर्ने मानिसलाई स्वच्छ दिलले काम गरेपछि केही पनि गाह्रो हुँदैन । २ वर्ष त्यहाँ काम गरिसकेपछि म म्याग्दी जिल्लामा काम गरें । म्याग्दी जिल्लामा हाम्रो घर नजिक भएकोले त्यहाँ काम गर्ने मौका मैले पाएँ । त्यसपछि मैले पीजी अध्ययन गर्ने मौका पाएँ । त्यो सकेपछि म म्याग्दीमा फर्के । म्याग्दीमा फर्केर एक वर्ष काम गरेपछि म बाग्लुङ गएँ । बाग्लुङ मेरो जन्मभूमि हो । त्यहाँ गैसकेपछि मेरो तह बढ्यो, नवौं तहमा गैसकेपछि पर्वत जिल्लामा साढे ४ वर्ष काम गरिसकेपछि सिन्धुपाल्चोक चौताराको जिल्ला अस्पतालमा काम गरे । दुवै ठाउँमा म अस्पतालाको प्रमुख भएर काम गर्ने मौका पाएँ । ती ठाउँहरुको स्वास्थ्य प्रणालीलाई उकास्ने अवसर पनि मलाई जुट्यो । त्यसपछि म एघारौं तहमा गैसकेपछि मलाई पुनः बाग्लुङको धौलागिरी अस्पतालमा जिम्मा दिएर पठाइयो । त्यहाँ ४ वर्ष काम गरेपछि राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकको रुपमा काम गर्ने अवसर पाएँँ । त्यहाँ ८ महिना काम गरेपछि शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा १९ महिना मैले काम गर्ने मौका पाएँ । अवकाशपछि यहाँ मैले करारमा काम गरिरहेको छु ।
तपाईको परिवारमा कति जना सदस्यहरु हुनुहुन्छ र के के गर्नुहुन्छ ?
मेरो परिवारमा श्रीमती र दुई जना छोराहरु छन् । ठूलो छोरा मेडिकल लाइनमा छ कि भन्ने प्रश्न गर्दा छैन भने । उनले अगाडि भने, “मैले मेडिकल फिल्डमा किन नचाहेको भन्दा मैले अघि नै भनिसकें विषम परिस्थितिमा मैले काम गर्नु प-यो । यो पेशाले गर्दा मैले परिवारलाई राम्रोसँग समय दिन सकिन । त्यही भएर मैले मेरो छोराहरु स्वास्थ्य क्षेत्रमा नलागोस् भन्ने चाहें । त्यही अनुरुप मेरो ठूलो छोरो सूचना प्रविधिको Internet Security पढ्दैछ । पढेर सिध्याइसक्यो, अब उतै काम गर्दछ । कान्छो छोरो चाहिं पहिले त मेडिसिन विषय पढ्दिन भन्थ्यो, फेरि उ कतैबाट कन्भिन्स भयो । उसले अहिले थर्ड इयर सकाएर फोर्थ इयर बंगलादेशमा पढ्दैछ ।
जीवनमा भएका तितामिठा क्षणहरु र अविष्मरणिय अनुभवहरु के के छन् ?
त्यो एकदमै धेरै छन् । तितो नमिठोको कुरा गर्दा सबैभन्दा पहिले द्धन्द्धकालको कुराहरु म कोट्याउन चाहन्छु । चिकित्सक भएर पनि विषम परिस्थितिमा अस्पतालमा यातायातको साधन थिएन । बारम्बार हिंड्नुपर्दथ्यो । हिंड्दा बाटोमा सकेट बमदेखि लिएर सुरक्षाकर्मीको कडा जाँच हुन्थ्यो । माओवादी पनि सस्त्र अस्त्र लिएर बसिरहेका हुन्थे, त्यस्तो अवस्थामा मलाई अप्ठेरो अवस्था अनुभव हुन्थ्यो । त्यसले गर्दा खेरि मैले धेरै मुभमेन्ट पनि गर्न पाइन । मुभमेन्ट गर्न नपाएको कारणले गर्दा मैले २ महिना हुँदा लिएर गएको सानो छोराको भात ख्वाइ पनि सल्यानमै भयो । दशै तिहार पनि उतै मनाइयो । मानिसहरुले मलाई यो डाक्टर कस्तो विदा नलिने जहिले पनि काम गर्ने पनि भन्दथे । त्यो एउटा तितो अनुभव थियो भने विभिन्न कठिनाईका बाबजुद पनि त्यो अस्पतालमा सुरक्षित रुपले प्रसुति गर्ने कुनै व्यवस्था थिएन । त्यहाँ ओटीको पनि व्यवस्था थिएन । आफैले गएर रङ, रोगन गरेर सेवा शुरुआत गरियो । अस्पताल आउने बाटो पनि थिएन । २, ३ बजेपछि खासै काम हुँदनथ्यो । मैले औजार उपकरण लिएर बाटो बनाउने काममा पनि हिंडे । बाटो बनाएको देखेर अरु जनताले मलाई समर्थन गर्न थाले । सडक विभागका गाडीहरुलाई पनि बारम्बार मुभ गरेर डोजर प्रयोग गरेर बाटो बनाउन सफल भइयो । त्यो राम्रो अनुभव थियो ।
अर्को तितो अनुभव भनेको म कार्यरत एउटा जिल्लामा एकजना गर्भवती पश्चात महिलाको रगत बगेर पाठेघर नै बाहिर निस्केको थियो । उनको तत्कालै अप्रेसन गर्नुपर्ने जुन त्यो जिल्लामा सफल थिएन । रिफर गर्दा पनि निकै गाह्रो भएको थियो । कतिपय निस्सासिएको बच्चाहरुलाई निकाल्ने क्रममा कतिपय बच्चाहरुको हातहरु भाँचिने गर्दथ्यो । मर्नुभन्दा बरु त्यसरी बच्चा निकालिन्थ्यो । जन्मिसकेपछि उपचार गरेर राम्रो हुन्थ्यो । द्धन्द्धको विभिन्न अप्ठेरो अवस्थामा जस्तो म यो भुकम्पको कुरा गर्न चाहन्छु । पहिलो भुकम्प वैशाख १२ गतेको दिन अस्पताल पुरै ध्वस्त भैसकेको थियो । त्यतिबेला म चौताराको अस्पतालमा कार्यरत थिएँ । त्यतिबेला स्टोर भएको भवन पनि कोल्याप्स भयो । साँचो नै हरायो । आर्मीलाई प्रयोग गरेर स्टोरको सामान निकालियो । अनि नजिकै रहेको चौर जहाँ अहिले खेलकुद मैदान बनेको छ त्यहाँ ३, ४ महिनासम्म खुला अस्पतालको रुपमा काम गरें । झण्डै ७२ घण्टा सम्म पानी नभनिकन धेरै भन्दा धेरै मानिसहरुको सेवा गर्यौं । त्यो १२ गतेको घटनामा हामीसँग खासै सामान केही पनि थिएन । गर्भवती महिलालाई सुरक्षित रुपमा सुत्केरी गराउन सफल भयौं । उहाँहरुलाई लठ्याउने इन्जेक्सन पनि निकाल्न सकेनौ । विभिन्न कठिनाइका बाबजुद पनि हामीले काम ग-यौं । ३, ४ महिना खुला आकासमा काम ग-यौं । त्यसपछि नर्वेजियन सरकारले फिल्ड अफिस स्थापना गर्यो । शायद अहिले पनि चलिराखेको छ । विभिन्न कठिनाईका बाबजुद हामीले काम गर्न सकेका छौं, त्यसमा एउटा जिम्मेवारीको हिसाबले विभिन्न संघ संस्थासँग समन्वय गर्ने देखि लिएर सहयोग माग्ने देखि लिएर काम गर्ने सम्म अनुभव हासिल गरेको छु ।
राम्रो अनुभव के छ भन्ने प्रश्नमा उनले भने, “धेरै स्वास्थ्यकर्मी मध्ये म एकजना भाग्यमानी जसले स्वास्थ्य संस्थाको ग्राउण्ड लेवलदेखि टप लेभलसम्म काम गर्ने मौका पाएँ । कस्ता चुनौतीहरु आउँछन्, तिनीहरुसँग कसरी सामना गर्न सकिन्छ र समाधान गर्न सकिन्छ आदि अनुभवहरु मैले गरेको छु । म पहिलो मानिस हुँ जसले पहिलो कोरोनाको पहिलो भ्याक्सिन लगायो चुनौती स्वीकार गरेर, पहिलो व्यक्ति हो जसले पहिलो लिक्वीड अक्सिजन प्लान्ट स्थापना गर्ने मौका पायो । पहिलो व्यक्ति नै हुँला जसले एउटा अंचलको तीनवटा जिल्लाको स्वास्थ्य प्रमुख भएर कार्य गर्ने मौका पाएँ । म एकदम भाग्यमानी पनि छु र अझै पनि रिटायरमेन्ट पछि यो अस्पतालमा काम गरिराखेको छु । आउने दिनहरुमा पनि नयाँ नयाँ के अनुभवहरु लिन सकिन्छ भनेर म लागिरहन्छु ।
अहिले तपाईंको जीवन निकै व्यस्त छ । अहिलेको तपाईंको जीवनको टाइम टेबुल भनौं वा प्रत्येक दिनका गतिविधिहरु कसरी बितिरहेका छन् । यस बारे केही भनिदिनुहुन्छ कि ?
अहिले पनि मैले पेशागत काम गरिराखेको छु । सिनियर कल्सल्टेन्टको रुपमा बिरामीहरुको जाँच गर्ने काम गर्दछु । मेरो स्पेशलाइजेशन एमजीडीपी हो । यसको अर्थ डाक्टर अफ मेडिसिन इन जनरल प्रयाक्टिस हो । एउटा त्यस्तो प्रकारको चिकित्सक जसले गर्भवतीको उपचार पनि गर्न सक्दछ, अप्रेसन गरेर बच्चा निकाल्न पनि सक्दछ, बच्चाको उपचार पनि गर्न सक्दछ, साइक्याट्रिक बिरामी पनि हेर्न सक्दछ । अर्थोपेडिक, सर्जनको रुपमा पनि काम गर्न सक्दछ । अल राउण्डर खास गरेर जिल्ला जिल्लामा व्यवस्थापन गर्नको लागि नेपाल जस्तो ठाउँमा जहाँ विभिन्न किसिमका रोगको विशेषज्ञ पाइदैनन्, कमसेकम एकजना त्यस्तो चिकित्सक पठाइदियो भने धेरै भन्दा धेरै काम उहाँले गर्न सक्नुहुन्छ ।
म बिहान ५ः०० बजे उठ्छु, तातो पानी सेवन गरेर मर्निङ वाकमा जान्छु । आधा घण्टा जति म वाक गर्दछु । २० मिनेट जति म कडा व्यायाम गर्दछु । अनि फर्किन्छौ र म ब्याडमिन्टन खेल्न जान्छु । आधा घण्टा एक घण्टा ब्याडमिन्टन खेलिसकेपछि नियमित चिया खाने वा तातो पानी खाने गर्दछु ।
९ः०० बजे खाना खान्छु, खाना खाइसकेपछि अफिस आउँछु । यहाँ आइसकेपछि म आफ्नो कर्मक्षेत्रमा लाग्दछु । ओपीडीमा लाग्दछु । ओपीडिमा जानुभन्दा पहिला इमर्जेन्सी र इन्डोरमा राखिएका बिरामीहरुलाई राउण्ड गर्दछु । स्वास्थ्यकर्मीसँग विभिन्न सूचना लिन्छु । राउण्ड सकिएपछि म ओपीडीमा जान्छु । रिपोर्ट हेर्ने, परिक्षण गर्ने र स्वास्थ्यकर्मीलाई परामर्श दिने काम गर्दछु । १ र २ बजेको बीचमा टिफीन आवर हुन्छ । ५ः०० बजे सम्म नै यहाँ रहेर बिरामीको रिपोर्ट हेर्ने र काउन्सिलिङ गर्ने कामहरु गर्दछु । म ६ बजेतिर घर पुग्दछु ।
चिकित्सकले अहिले पनि अलि अलि अध्ययन गर्नुपर्ने हुन्छ । किनकी नयाँ आएको कुराहरुमा अपडेट हुनुपर्दछ । नयाँ नयाँ अनुसन्धान भैरहेको हुन्छ, उपचार पद्धति विकसित भैरहेको हुन्छ । अनि एकाडेमिक कामहरुमा पनि म लाग्ने गर्दछु जस्तो विभिन्न किसिमको अनुसन्धानमा र चिकित्सक, स्वास्थ्यकर्मीहरुको सेवाकालीन जुन परीक्षा हुन्छ ती प्रश्नहरु तयार गर्ने काम पनि मैले गर्दछु ।
तपाईका शौकहरु के के छन् ?
मेरो शौक डान्स र खेलकुद हो । म डान्स गर्दछु । क्याम्पस लाइफमा म प्रोफेसनल डान्सर थिएँ । हलहरुमा मैले आफ्नो प्रस्तुति पनि दिन्थे । त्यस्तै ब्याडमिन्टन खेल्छु । अर्को हवी भनेको दुःख पाएका बिरामीहरुको सेवा गर्ने हो ।
तपाईको जीवन शैलीबाट अरुहरुले प्रेरणा लिन सक्दछन् । त्यसैले जिन्दगीमा के गर्यो भने आत्म सन्तुष्टि पाइन्छ र तपाईंको विचारमा कसरी जीवन बितायो भने जीवन सार्थक हुन्छ जस्तो लाग्दछ ?
यस्तो विशाल संसारमा सबै खुशी नै हुँदैनन् । विभिन्न समस्याहरुको समाधान खोजेर नै आनन्द लिने हो । विभिन्न कठिनाईहरुका बाबजुद पनि जसरी हामीले सेवा दिइराखेका छौं दुःख नमानिकन कसरी समाधान गर्न सकिन्छ भनेर एउटा टीम एप्रोचले समाजको सेवा गर्ने हो । हरेक व्यक्तिले सकारात्मक सोंच लिनुपर्दछ । आफ्ना दुःखका कुराहरु विर्षेर कसरी पोजिटिभ बनाउन सकिन्छ ती कुरा सोंचेर काम गर्नुपर्दछ । आफूभन्दा जुनियर स्टाफहरुलाई पनि उदाहरणीय बनेर देखाउनुपर्दछ । उहाँहरुलाई केही भन्नुभन्दा पहिले आफैले काम गरेर देखायो भने उहाँहरुलाई प्रोत्साहन मिल्दछ । दुःखमा परेका व्यक्तिहरुलाई आफूले सकेको सेवा गर्नुपर्दछ भन्ने लाग्दछ ।
मैले सोध्न छुटेका र सरलाई भन्न मन लागेका केही कुराहरु भए भनिदिनुहुन्छ कि ?
अहिले पनि कतिपय ठाउँहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नकारात्मक रुपले हेर्ने गरिएको छ । खास गरेर नेपाल सरकारको कार्यालयहरुमा । सबैभन्दा महत्वपूर्ण भूमिका अहिले पनि डाक्टरलाई भन्दा पनि राजनीतिककर्मीहरुलाई दिइएको हुन्छ । प्रमुख भूमिका सीडियोलाई दिइएको हुन्छ, सुरक्षाकर्मीलाई दिइएको हुन्छ, चिकित्सकलाई खासै स्थान दिइएको हुँदैन । चिकित्सकले त्यस्तो भूमिका निर्वाह गर्दछ जसले आफ्नो ठाउँबाट विभिन्न किसिमको सेवाहरु दिइराखेका हुन्छन् । ती सेवा लिने व्यक्तिहरुले सेवा आफ्नो ठाउँमा प्राप्त गर्न सके जसले गर्दा बाहिर जाने अनावश्यक खर्च पनि परेन । आफ्नै ठाउँमा उपचार पाएपछि ती मानिसहरुको व्यापार व्यवसाय पनि बढ्छ । त्यसले गर्दा चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई कुनै ठाउँमा जाँदा उनीहरुलाई सम्मान गर्ने जस्ता कामहरु स्वास्थ्यकर्मीहरुलाई पनि गरौं । जसरी राजनीतिक प्रशासनिक जिम्मेवारी लिएका व्यक्तिहरुलाई सम्मान गर्नुहुन्छ त्यसैगरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई पनि सम्मान दिनु भयो भने तपाईंहरुको मायाँले चिकित्सककर्मीहरुको हौसला बढ्छ ।
प्रतिकृया