निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझायो निर्वाचन परिणाम, नयाँ सरकार बनाउने बाटो खुला
प्रकाशित मिति
२०७९ मंसिर २९ गते, बिहीबार ०३:३२
२९ मंसिर २०७९, काठमाडौँ: निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को परिणाम बुझाएको छ । बिहीवार बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीहरूले राष्ट्रपति भण्डारीसमक्ष मंसीर ४ गते सम्पन्न सो निर्वाचनको मत परिणामको विवरण बुझाएका छन् । आयोगले मत परिणाम राष्ट्रपतिलाई बुझाएसँगै नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ । आयोगले बुधवार (हिजो) निर्वाचनको सबै परिणाम घोषणा गरेको थियो ।
निर्वाचनको मत परिणाम अनुसार नेपाली कांग्रेसले ८९ सिट प्राप्त गरेको छ । त्यसैगरी, एमालेले ७८ सिट, नेकपा (माओवादी केन्द्र) ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ सिट, जनता समाजवादी पार्टीले १२ सिट, नेकपा (एकीकृत समाजवादी)ले १० सिट, जनमत पार्टीले ६ सिट, लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट ल्याउन सफल भएको थियो ।
२७५ सिट रहेको प्रतिनिधिसभामा नेपाली कांग्रेस पहिलो दल, एमाले दोस्रो दल र माओवादी केन्द्र तेस्रो दल बनेको छ भने नयाँ शक्तिको रूपमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि आएको छ ।
निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने ४ हजार २८५ जना उम्मेदवारहरूको धरौटी रकम जफत भएको छ । प्रतिनिधिसभातर्फ पुरुष १ हजार ७७२ र महिला १८९ गरी जम्मा १ हजार ९६१ जनाको धरौटी रकम जफत भएको र प्रदेशसभातर्फ पुरुष २ हजार ८६, महिला २३७ र अन्य १ गरी जम्मा २ हजार ३२४ जनाको धरौटी रकम जफत भएको छ ।
त्यस्तै, प्रतिनिधिसभामा प्रत्यक्षतर्फको निर्वाचनमा १ सिट पनि प्राप्त नगर्ने ४० ओटा दलको धरौटी जफत भएको राष्ट्रपतिसमक्ष बुझाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रदेशसभातर्फ भने प्रदेश १ मा ३०, मधेश प्रदेशमा २६, वागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ ओटा दलको धरौटी रकम जफत भएको छ । समानुपातिकमा ३ प्रतिशत मत र प्रत्यक्ष निर्वाचनमा कम्तीमा १ सिट प्राप्त गरी ७ ओटा दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको थियो, जसमध्ये १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको छ । ५ दशमलव शुन्य ६ प्रतिशत मत भने बदर भएको उनको भनाइ छ । त्यसैगरी, प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको र ५ दशमलव शून्य ९ प्रतिशत मत बदर भएको उनले बताए । प्रदेशतर्फ भने प्रत्यक्षतर्फ १ करोड १० लाख ३४ हजार ५०० (६१ दशमलव ३६ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ८५ हजार ३०० मत सदर भएको र ४ दशमलव शुन्य ७ प्रतिशत मत बदर भएको बताइएको छ ।
प्रदेशसभाको समानुपातिकतर्फ १ करोड १० लाख २८ हजार ३७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भई ६ दशमलव ५५ प्रतिशत मत बदर भएको आयोगको भनाई छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ पुरुष १८४ जना (६६ दशमलव ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव १० प्रतिशत) निर्वाचित भएको जानकारी गराएको छ । त्यस्तै प्रदेशसभातर्फ पुरुष ३५० जना (६३ दशमलव ६४ प्रतिशत) र महिला २०० जना (३६ दशमलव ३६ प्रतिशत) निर्वाचित भएको जनाइएको छ ।
प्रतिकृया