• १५:०१ २०८० चैत्र १६ गते
  • 3:01 pm

अनलाइन कक्षा कति प्रभावकारी ?

प्रकाशित मिति

२०७८ भाद्र २ गते, बुधबार ०६:०१

sg

सागर गुरागाईं
२ भाद्र, २०७८ काठमाडौँ : कोरोना भाइरसको दोस्रो लहरका कारण झण्डै १८ महिनादेखि नेपालका करिब ३५ हजारभन्दा बढी विद्यालय बन्द अवस्थामा छन् । करिब ८० लाख कलिला मस्तिष्कका जिज्ञासु बालबालिका घरभित्रै खुम्चिन बाध्य छन् । सरकारले रेडियो, टेलिभिजन अनलाइन लगायतका वैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने भने तापनि ती माध्यममा सीमित विद्यार्थीको मात्र पहुँच छ । कोरोनाकै कारण गत शैक्षिक सत्रमा विद्यालय कतै छ महिना भौतिक रूपमा सञ्चालन हुन पाए त कतै दुई महिना मात्रै ।


सहरी क्षेत्रमा त्यो पनि विशेषगरी संस्थागत विद्यालयमा अनलाइन कक्षा केही मात्रामा प्रभावकारी भए पनि ग्रामीण क्षेत्र र सरकारी विद्यालयमा अनलाइन कक्षाको पहुँच हुन सकेन । सरकारको समग्र उद्देश्य, अभियान र प्रयास पूर्ण रूपमा सफल हुन सकेन । नेपालका प्रारम्भिक बालशिक्षाका करिब ११ लाख बालबालिका शिक्षण सिकाइबाट पूर्ण रूपमा वञ्चित भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार २०७६ सालमा देशभरि ११ लाख ३१ हजार ९१ बालबालिकाले प्रारम्भिक बालशिक्षाका लागि नाम दर्ता गराएका थिए ।


यो आँकडाअनुसार वार्षिक रूपमा वृद्धि हुने सयौं नजोड्दा पनि प्रारम्भिक बालशिक्षाका करिब ११ लाखभन्दा बढी शिशु बालबालिकाले शिक्षण सिकाइ अवसर यतिखेर गुमाउनु परेको छ । चालु शैक्षिक सत्रमा नया“ भर्नादर कति छ भन्ने तथ्याकं आइसकेको छैन ।



रेडियो, टेलिभिजन, जुम वा म्यासेन्जरबाट गरिने अनलाइन पढाइ साना बालबालिकाका लागि प्रभावकारी नहुने र त्यस्ता बालबालिकालाई भौतिक रूपमै खेलाउ“दै. रमाउँदै सिकाउनुपर्ने भएकाले निषेधाज्ञाको यो लामो समयमा उनीहरू सिकाइबाट वञ्चित हुनुपरेको छ । उमेरगत स्वास्थ्यको दृष्टिले पनि मोबाइल, ल्यापटप वा कम्प्युटरजस्ता विद्युतीय उपकरणमा घण्टौंसम्म बसेर पढ्न पनि अहित हुने र कम उमेरका बालबालिका यस किसिमका अनलाइन कक्षामा आफै प्रत्यक्ष रूपमा संलग्न हुन नसक्ने भएकाले लामो लकडाउनले प्रारम्भिक बालशिक्षा क्षेत्रमा सबैभन्दा बढी असर पारेको छ ।


संवेदनशील र साना उमेर समूहमा पढ्ने नर्सरी, केजी, मन्टेश्वरीलगायतका प्रारम्भिक बालशिक्षाका लाखौं बालबालिकाको सिकाइ लगभग डेढ वर्षदेखि हुन सकेको छैन । उनीहरूलाई न त अनलाइन कक्षाले समेट्न सकेको छ, न त अन्य कुनै वैकल्पिक शिक्षा पद्धतिले नै । ठूला विद्यार्थीप्रति सबैको ध्यान केन्द्रित भइरह“दा साना बालबालिकाको सिकाइप्रति न राज्यको ध्यान पुग्न सकेको छ, न त स्थानीय सरकार र सम्बन्धित निकायहरूको नै ।



अहिले नेपालमा ३६ हजार बालविकास केन्द्र छन् । जसमध्ये सामुदायिक विद्यालय र समुदायमा आधारित ३० हजार ४ सय ४८ र संस्थागत विद्यालयमा छ हजार १ सय २० बालविकास केन्द्र छन् । अहिले कुल जनसंख्यामध्ये पाँच वर्षमुनिका बालबालिका करिब १६ प्रतिशत रहेको तथ्याङ्कले देखाउ“छ । युनिसेफको अध्ययन प्रतिवेदनअनुसार विद्यालय जाने उमेरका १० मध्ये तीन बालबालिका मात्रै टेलिभिजन, रेडियो र इन्टरनेटमा आधारित सिकाइका माध्यमहरूमा पहुँच राख्छन् ।


खेल्दै सिक्दै शिक्षण विधिले बालबालिकालाई सिकाइ प्रक्रियामा सहज भएको थियो । ध्वनि सचेतना, गाउने, खेल्ने, नाच्ने, बुक कूर्नर, अक्षर गोटी, शब्दपत्तिलगायतका विधिबाट उनीहरूलाई सिकाउने गरिएको थियो । वर्षौंसम्म पूर्वप्राथमिक कक्षाका यति धेरै बालबालिका पढाइ र सिकाइबाट वञ्चित हुनु भनेको एकखालको राष्ट्रिय शैक्षिक सङ्कटकाल नै हो । लामो समयको निषेधाज्ञाले खेल्ने, चल्ने र विद्यालय जाने उमेरका कलिला बालबालिकालाई सबभन्दा बढी मानसिक तनावमा पारिदिएको छ ।


घरभित्रै बस्नुको मानसिक पीडा र तनाव खपिसक्नु छैन । घरभित्रै छेकेर राख्दा चलिरहनुपर्ने चञ्चल बाल स्वभाव कुण्ठित र निराश बनेको छ । आफ्नो साथीस“ग भेटघाट गर्न, खेल्न, कुद्न र हा“सखेल गर्न नपाउ“दाको अव्यक्त बालवेदना हामी वयष्कले केवल अनुमान मात्र गर्न सक्छौं, अनुभव, अनुभूति र महसुस गर्न सक्दैनौं । लामो समय घरभित्रै सीमित रहेका उनीहरू एकाङ्गी, अटेरी र जिद्दी बन्दैछन् । कतिपय विद्यार्थीले बोलाउ“दा झर्कने, टोलाउने, रिसाउने जस्ता आक्रामक व्यवहार समेत देखाउन थालेका छन् । मुलुकका भविष्यका कर्णाधारमा आएको यो मनोदशा र नकारात्मक असर मुलुकका लागि अत्यन्तै चिन्ताको विषय हो ।


पहिले विद्यार्थीलाई इन्टरनेट र मोबाइल प्रयोगमा प्रतिबन्ध लगाइन्थ्यो । समयक्रमले हामी सबैलाई अनलाइन कक्षाका नाममा उनीहरूका लागि इन्टरनेट जोडिदिनुपर्ने, मोबाइल, ट्याब र ल्यापटप किनिदिनुपर्ने विवशतामा पुर्यायो । अब किशोर–किशोरी तथा बालबालिकालाई सामाजिक सञ्जाल र इन्टरनेटको दुनिया“मा रमाउने बानी परिसकेको छ । कतिपयले आफ्नो उमेरअनुसार चाहिने–नचाहिने सामग्री पनि हेर्न भ्याइसकेका छन् । पब्जी, फ्री फायरलगायतका अनेकौं गेम र टिकटकजस्ता कुरामा धेरैको नियमितता बनिसकेको छ ।



बालबालिका घरभित्रै भए पनि आफ्नो अभिभावकसँग टाढिदैं जान थालेका छन् । उनीहरू एउटा कुनामा बसेर एकान्तमा गेम खेल्न वा अन्य कुरामा रमाउन अभ्यस्त भइसकेका छन्। उनीहरूमा लगातार मोबाइल फोनमै झुन्डिने, झोक्राउने तथा घरमै भएर पनि परिवारका सदस्यस“ग धेरै घुलमिल नहुने र बोल्दा पनि झर्किने खालका मानसिक समस्या देखिन थालेका छन् । अनलाइन कक्षाका नाममा लगातार मोबाइलको प्रयोगले तनाव, चिन्ता तथा बेचैनी र उदासीनता बढ्दै गएको छ ।


निद्राको समस्या, थकान महसुस हुनु, कुनै कुरामा राम्ररी ध्यान केन्द्रित गर्न कठिन पर्ने समस्या आएका छन् । टाउको दुख्ने, आ“खा खराब हुने र घा“टी दुख्नेजस्ता रोग पनि बढ्न थालेका छन् । उनीहरूमा मौलिकता, सिर्जनात्मकता र शारीरिक सक्रियता हराउ“दै अल्छीपना र मोटोपना बढ्न थालेको छ । अनलाइन शिक्षाबाट बालबालिकालाई केही हदसम्म राहत भए पनि समग्रमा तत्कालीन र दीर्घकालीन अनेक नकारात्मक असर देखिन थालेका छन् । यो अभिभावक, समाज र देशकै लागि गम्भीर चिन्ताको विषय हो ।


टीभी तथा मोबाइल फोनको समस्या त छदंछ । बिजुली आउ“दा इन्टरनेट नहुने अनि इन्टरनेट आउँदा बिजुली नहुने समस्या नेपालका धेरैजसो ठाउ“का दैनिक समस्या नै हुन् ।



सरकारी तथ्याङ्कअनुसार नेपालको ८२ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा छ । ६ सय ५५ पालिकासम्म नेपाल टेलिकमको फोरजी सेवा विस्तार भएको भनिएको छ । यद्यपि, सहरी क्षेत्रमै पनि टेलिकमको फोरजी तथा अन्य ब्रोडब्यान्ड इन्टरनेट सेवाहरू भरपर्दा छैनन् भने ग्रामीण क्षेत्रमा अनलाइन कक्षाका लागि ती कति प्रभावकारी होलान् ? सहजै अनुमान गर्न सकिन्छ ।


विकल्परहित कक्षा कोठा नेपालजस्तो देशमा शिक्षण सिकाइका लागि कक्षा कोठाको पूर्णतः विकल्प अनलाइन कक्षा न त कहिले भएको थियो, न त हुने नै देखिन्छ । यस अर्थमा विद्यालयमा भौतिक उपस्थिति नहु“दासम्म शिक्षण सिकाइले पूर्णता पाउन सम्भव देखिदैंन ।


हाल कोरोनाविरुद्धको खोप अधिकांशले लगाइसकेका छन् । कोरोनाको त्रास कायमै छ । मानसिक तनावमा परेका कलिला मस्तिष्कका विद्यार्थीलाई नियमित शैक्षिक गतिविधिबाट टाढा हुन नदिन भौतिक रूपमै शैक्षिक सम्पर्क गर्न जरुरी देखिन्छ ।

प्रतिकृया