• १७:५९ २०८० चैत्र १६ गते
  • 5:59 pm

हिमाल सफाइका लागि नेपाली सेना

प्रकाशित मिति

२०७८ बैशाख २ गते, बिहीबार ०९:५७

sagarmatha e1580786770302 large e1618459914454

काठमाडौँ- नेपाली सेनाको टोली बिहीबार हिमाल सफाइका लागि सगरमाथासहितका अन्य छ सम्बन्धित हिमालतर्फ गएको छ ।

सफा हिमाल अभियान अन्तर्गत अत्यधिक पर्यटकको आकर्षणमा रहेका विश्वका सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, मकालु, धवलागिरि, पुमोरी र आमादब्लम हिमाल एकैपटक सफा गरिन लागिएको विशेष नेपाली सेनाको टोली बिहीबारदेखि कार्यक्षेत्रमा खटिएको हो ।

सगरमाथासहितका छ हिमालको सफाइका लागि खटिने टोली बिहीबार बिहानै लुक्ला पुगेको अभियानका नेतृत्वकर्ता सेनानी आदित्य कार्कीले जानकारी दिएका छन् ।

 हिमालका आधार शिविर भन्दा माथिबाट १८ टन तथा आधार शिविर वरपरबाट १७ टन फोहोर संकलन गरेर ल्याउने लक्ष्य रहेको अभियानले जनाएको छ । यस्तै भेटिएका जति शवहरु पनि संकलन गरेर ल्याइने नेतृत्वकर्ता कार्कीले जानकारी दिएका छन् ।

यस पटक सफाइ अभियानमा नेपाली सेनाका ४३ जना तथा सेवा प्रदायक संस्था पिक प्रोशनबाट ६९ जना शेर्पाहरु प्रत्यक्ष रुपमा सहभागी हुँदैछन् । हिमालको पर्यावरणीय सुरक्षा तथा भावि पुस्ताका लागि पनि हिमाल जोगाइ राख्ने उद्देश्यसहित सफाइ अभियान गर्न लागिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । वातावरण मन्त्रालयले उपलब्ध गराएको १० करोड तथा अरु सरोकारवाला र व्यवसायिक फर्महरुले उपलब्ध गराएको रकमसहित कुल १२ करोड ५५ लाखको लागतमा यो वर्षको सफाइ अभियान हुँदैछ ।

वैशाख ११ गतेसम्म सम्बन्धित आधार शिविर पुगेर टोलीले सफाइ अभियानको मुख्य काम गर्नका लागि तयारी गर्नेछ । त्यसपछि ३१ दिन वैशाख १२ देखि जेठ १० गतेसम्म० हिमालहरुमा सफाइ गर्ने तयारी रहेको सेनानी कार्कीले जानकारी दिए । संकलित मध्ये कुहिने फोहोरहरु सम्बन्धित हिमाल क्षेत्रका स्थानीय तहले व्यवस्थापन गर्नेछन् भने नकुहिने फोहोर काठमाडौँ ल्याएर पुर्नप्रयोग-पुर्नउत्पादन गर्ने संस्थाहरुलाई हस्तान्तरण गर्ने योजना रहेको छ । संकलित फोहोर जेठ १४ गतेसम्ममा काठमाडौँ ल्याइने छ ।

यसअघि सन् २०१९ मा भएको सफा हिमाल अभियानको क्रममा सगरमाथाबाट १० टन फोहोर र चारवटा शव ल्याइएको थियो । हिमालहरुमा मानवीय कारणले बर्सेनि फोहोर थपिने क्रम छ । सगरमाथामा मात्रै एक लाख ४० हजार टन फोहोर तथा ४० हजार किलो मानव मलमुत्र रहेको अनुमान छ । आरोहणका लागि खुला अरु हिमालहरुमा पनि फोहोर उस्तै रहेको अनुमान गरिएको छ ।

( फाइल तस्बिर)

प्रतिकृया