• 4:02 am

पोखरामा जारी औद्योगिक व्यापार मेलामा छायो ‘घुमौँ मधेश, बुझौँ मधेश’ को नारा

प्रकाशित मिति

२०८१ माघ १७ गते, बिहीबार १२:२२

माघ १७, २०८१ पोखरा : गण्डकी प्रदेशको राजधानी अर्थात् ‘नेपाली पर्यटनको राजधानी’ पोखरामा जारी ३३ औँ औद्योगिक व्यापार मेलामा ‘घुमौं मधेश, बुझौं मधेश’ को स्टल सबैभन्दा सिर्जनात्मक र प्रभावकारी रहेको भन्दै मेलामा पुग्ने प्रायः सबैले प्रचार गरिरहेका छन् ।

पोखरामा माघ १० गतेदेखि जारी ३३ औँ औद्योगिक व्यापार मेला एवम् आइटी महोत्सवमा–२०८१ मधेश चिनाउने काम गरिरहेको ‘घुमौँ मधेश, बुझौँ मधेश’ का कार्यक्रम संयोजक विकास ठाकुरले जानकारी दिए । ‘घुमौँ मधेश, बुझौँ मधेश’ को स्टल नम्बर १ मा ब्यानर, फ्लेक्स र अङ्ग्रेजी नेपाली दुवै भाषामा प्रकाशित बुकलेटका माध्यमबाट मधेशमा रहेका धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्रबाट जानकारी दिइएको छ । ‘यो महोत्सवमा स्टल राखेपछि पोखरावासीहरूले मधेश घुम्ने इच्छा व्यक्त गर्नुभएको छ,’ उनले भने, ‘मधेशका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका बारेमा बुझाउने काम भइरहेको छ, धेरैजना उत्साहित हुनुभएको छ ।’

मधेश प्रदेश सरकार, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको कार्यक्रम ‘घुमौँ मधेश बुझौँ मधेश’ को स्टलमा हालसम्म हजारौँ मानिसले अवलोकन गरेका छन् भने आगुन्तकहरूलाई नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशित बुकलेट पनि वितरण गरिएको छ ।

माघ १० गतेको उद्घाटन सत्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मधेश प्रदेशले प्रस्तुत गरेका दुई स्वागत नृत्य (मिथिलाको झिँझिया र थारू नृत्य) र वितरण गरेको मधेश चिनाउने ४० गन्तव्य भएको बुकलेट सबै उपस्थित अतिथि र दर्शकदीर्घाको हात–हातमा देखेपछि आयोजक संस्थालाई ‘मधेशसँग सिक्नुस्- मेलामा केके राख्नुपर्छ र कसरी आयोजना गर्नुपर्छ’ भनेर मधेश प्रदेश सरकारको स्टल र ‘घुमौँ मधेश, बुझौँ मधेश’ को सिर्जनात्मक क्षमताको खुलेर प्रशंसा गरेका थिए । आयोजक मधेश प्रदेश सरकारका तर्फबाट पोखरामा आयोजित महोत्सवमा मधेश प्रदेशका पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा खानपिन संस्कृतिको व्यापक प्रचार गरिएको हो ।

उद्घाटन सत्रमा नाट्टा मधेश प्रदेशका अध्यक्ष तथा पर्यटन तथा हवाई यातायात समिति मधेश प्रदेशका संयोजक मोहन शर्माले हिमाल, पहाड र मधेश जोड्नका लागि यस्ता कार्यक्रमको विशेष भूमिका रहने बताएका थिए । उनले भनेका थिए, ‘हिमालका काखमा रहेकाहरू मधेशको समथर भूमिमा जानु पर्छ, मधेशका समथर भूमिमा रहेकाहरू हिमालको काखमा पुग्नुपर्छ, यसले दुवैतर्फका जनताले सांस्कृतिक तथा अन्य कुराहरू सिक्न र देख्न पाउनेछन् ।’ उनले मधेश प्रदेशको प्रतिनिधिको रूपमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मधेश प्रदेशको औपचारिक भ्रमणका लागि निमन्त्रणासमेत गरेका थिए ।

त्यसै गरी स्टल नम्बर ४ बाट रौतहटको कटिया र बरमझियाको पेडाको स्टल राखेर खानाको स्वाद पनि दिइरहेको छ । चन्द्रपुर उद्योग वाणिज्य सङ्घका उदय सापकोटा सुरेनले स्टल व्यवस्थापन गरेका छन् । ‘मधेशका बारेमा धेरै चासो व्यक्त गरेको देखिन्छ, धेरैले मधेश घुम्नुपर्नेमा जोड दिइरहेका छन्,’ उनले भने, ‘यो हाम्रो लागि उपलब्धि हो ।’

सो महोत्सवको उद्घाटन नै मिथिलाको झिंझिया र थारू नृत्यबाट सुरू भएकाले नि पोखराले मधेशलाई महत्त्व दिएको उनले बताए । ‘पोखरा महोत्सवको उद्घाटनबाट नै जुन खालको मधेशको चिनारी गराउने कार्य भयो, यसले हिमालको काखमा रहेकाहरूलाई मधेशको समथर भूमिमा भ्रमण गर्न उत्साहित र प्रेरित गरेको छ ।’ दर्शकको चाप बढेपछि माघ १७ गतेसम्मका लागि भनिएको महोत्सव अब माघ १९ सम्म जारी रहने छ ।

प्रतिकृया