एसईई ग्रेड वृद्धि परीक्षा विवादित
प्रकाशित मिति
२०७६ श्रावण १२ गते, आईतवार ०४:१२
काठमाडौं, माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा विवादमा परेको छ । भर्खरै शिक्षा मन्त्रालयले सी र सी ग्रेडभन्दा कम अंक प्राप्त गरेका सबै विषयमा परीक्षार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने निर्णय गरेकोमा शिक्षा विभागका कर्मचारी र शिक्षाविदले असन्तुष्टि जनाएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आगामी भदौ १ देखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।
सी वा सीभन्दा कम ग्रेड प्राप्त गरेका सबै विषयको ग्रेड वृद्धि परीक्षालाई लिएर शिक्षाविद् र बोर्डकै उच्च तहका कर्मचारीले असन्तुष्टि जनाएका हुन् । यसभन्दा अघि बढीमा दुई विषयमा सी वा सी भन्दा कम ग्रेड प्राप्त गर्ने परीक्षार्थी ग्रेड वृद्धि परीक्षा दिन पाउँथे।

शिक्षा बोर्डले दुई विषयमा मात्र ग्रेड वृद्धि परीक्षा दिन पाउने गरी साउन २६ र २७ गतेका लागि परीक्षाको समय तोकेको थियो । मन्त्रालयले भने अक्षरांकन पद्धति कार्यान्वयन कार्यविधि २०७२ संशोधन गरेर जति पनि विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने प्रावधान ल्याएको छ। शिक्षाविद्हरूले यो व्यवस्थाले एसईईको मूल परीक्षाको मर्ममा प्रहार गर्ने बताएका छन् । अघिल्लो वर्ष ४ लाख ७५ हजार परीक्षार्थीले एसईई परीक्षा दिएका थिए । विवाद नै भए पनि यो वर्ष ग्रेड वृद्धि परीक्षा तोकिएकै समयमा हुने भने निश्चित छ ।

पछिल्लो प्रावधान अनुसार गणित विषयमा ३ लाख २० हजार ८ सय विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिनेछन् । एसईईका सबै विषयका ग्रेड वृद्धि परीक्षा दिने परीक्षार्थी जोड्दा झण्डै एसईई जस्तै बन्ने परीक्षा नियन्त्रण कार्यालयले बताएको छ । परीक्षा नियन्त्रकका अनुसार नतिजा प्रकाशनको एक डेढ महिनामै सबै विषयको तयारी गरेर परीक्षा दिँदा गुणस्तरमा सुधार हुने देखिन्न ।




प्रतिकृया