• ४ साउन २०८३, सोमबार
  • २:४९ बिहान

स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

प्रकाशित मिति

२०८३ बैशाख २९ गते, मंगलवार ०९:३२

२९ बैशाख २०८३ काठमाडौं- स्नो रिभर्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरिसकेपछि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । जसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीयका लागि तथा ९३ हजार ७५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिसकिएको छ ।

Kamana Sewa

यस्तै, ४६ हजार ८७५ कित्ता शेयर सामूहिक लगानी कोष र १८ हजार ७५० कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको थियो ।

Classic Tech Desktop

अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गतेसम्म तोकिएको छ । आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने जनाइएको छ ।

कम्पनीले सञ्चालन गरिरहेको १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ७१ करोड ९० लाख रुपैयाँभन्दा बढी रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत २० करोड १४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

उक्त आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै ३१ वर्ष २ महिना बाँकी रहेको छ । कम्पनीका अनुसार आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.१७ वर्ष तथा डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १५.७७ वर्ष रहेको छ ।

प्रतिकृया