सबल कम्पनीको सेयर धितोमा अब ८० प्रतिशतसम्म कर्जा, राष्ट्र बैंकको नयाँ व्यवस्था लागू
प्रकाशित मिति
२०८३ असार ३२ गते, बिहीबार १२:३०
३२ असार २०८३ काठमाडौं – नेपाल राष्ट्र बैंकले सबल कम्पनीको सेयर धितोमा अब बजार मूल्यको अधिकतम ८० प्रतिशतसम्म कर्जा लिन सकिने व्यवस्था लागू गरेको छ। आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको घोषणालाई कार्यान्वयन गर्दै राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत नयाँ व्यवस्था लागू गरेको हो।
यसअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत सबै कम्पनीका सेयर धितोमा पछिल्लो १८० कार्यदिनको औसत अन्तिम मूल्य वा हालको बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको अधिकतम ७० प्रतिशतसम्म मात्रै मार्जिन कर्जा उपलब्ध हुने व्यवस्था थियो।

नयाँ व्यवस्थाअनुसार भने सूचीकृत कम्पनीको वित्तीय सबलताको मूल्याङ्कन गरी तयार गरिने ‘प्रोडक्ट पेपर’का आधारमा थप १० प्रतिशत बिन्दुसम्म कर्जा दिन सकिनेछ। यससँगै सबल कम्पनीका सेयर धितोमा अधिकतम ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने भएको हो।

राष्ट्र बैंकका अनुसार कम्पनीको सबलता मूल्याङ्कन गर्दा चुक्ता पुँजीको आकार, धितोपत्र सूचीकरण भएको अवधि, नाफा र लाभांश वितरणको इतिहास, क्रेडिट रेटिङ, नियामकीय व्यवस्था पालना तथा नियमित साधारणसभा सम्पन्न भएको अवस्थालगायतका सूचकहरूको अध्ययन गरिनेछ।
बैंक तथा वित्तीय संस्थाले यस्तो ‘प्रोडक्ट पेपर’ आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। साथै, एकपटक कर्जा प्रवाह गरिसकेपछि धितोमा रहेको सेयरको पुनर्मूल्याङ्कन गरी त्यसकै आधारमा थप कर्जा सीमा बढाउन वा थप कर्जा दिन नपाइने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
राष्ट्र बैंकको यो व्यवस्थाले वित्तीय रूपमा सबल र पारदर्शी सूचीकृत कम्पनीका सेयर धितोमा कर्जा पहुँच सहज बनाउने अपेक्षा गरिएको छ।




प्रतिकृया