अविरल वर्षा र बाढीपहिरोबाट भएको क्षतिमा ११ करोड १५ लाख बीमा भुक्तानी
प्रकाशित मिति
२०८२ पुष ४ गते, शुक्रबार ११:४१
४ पुस,२०८२ काठमाडौं— अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिमा हालसम्म ११ करोड १५ लाख रुपैयाँ बराबरको बीमा रकम भुक्तानी भएको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार गत असोज १८ गतेयता आएको अविरल वर्षा र बाढीपहिरोका कारण निर्जीवन बीमा कम्पनीहरूमा कुल ७९० वटा प्रारम्भिक बीमा दाबी परेका छन्। ती दाबीको कुल रकम चार अर्ब १८ करोड २६ लाख रुपैयाँ रहेको छ।

प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीका अनुसार हालसम्म ९६ वटा दाबीको भुक्तानी सम्पन्न भएको छ। १३ वटा निर्जीवन बीमा कम्पनी र दुई वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त तथ्याङ्कअनुसार सम्पत्ति बीमातर्फ ४१७ वटा दाबीमध्ये ३३ वटाको भुक्तानी भएको छ। सम्पत्ति बीमामा तीन अर्ब ५८ करोड ३२ लाख रुपैयाँ दाबी परेकोमा नौ करोड ६४ लाख रुपैयाँ भुक्तानी भइसकेको छ।

इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०७ वटा दाबीमध्ये करिब ५१ करोड ५७ लाख रुपैयाँ दाबी परेको छ भने सात वटा दाबीको नौ लाख रुपैयाँ भुक्तानी भएको छ। कृषि तथा बाली बीमातर्फ २१० वटा दाबीमध्ये चार करोड १४ लाख रुपैयाँ दाबी परेकोमा ४२ वटा दाबीको १९ लाख रुपैयाँ भुक्तानी गरिएको छ।
यस्तै, मोटर बीमा (निजी)तर्फ ४० वटा दाबीमध्ये दुई करोड ८२ लाख रुपैयाँ दाबी परेकोमा १२ वटा दाबीको एक करोड २० लाख रुपैयाँ भुक्तानी भएको छ। सामुद्रिक बीमातर्फ चार वटा दाबीमध्ये ११ लाख रुपैयाँ दाबी परेकोमा दुई वटा दाबीको तीन लाख रुपैयाँ भुक्तानी भएको प्राधिकरणले जनाएको छ।
मोटर बीमा (सार्वजनिक)तर्फ १० वटा दाबीको एक करोड १९ लाख रुपैयाँ र लघु बीमातर्फ दुई वटा दाबीको १२ लाख रुपैयाँ बराबरको बीमा दाबी भने हालसम्म भुक्तानी प्रक्रियामा नपुगेको प्राधिकरणले जानकारी दिएको छ।




प्रतिकृया