सभामुखले प्रतिनिधिसभा नियमावलीको उल्लंघन गरेर बैठक चलाउनुभयो: सांसद दाहाल
प्रकाशित मिति
२०८० जेष्ठ २४ गते, बुधबार ०३:१५
२४ जेठ २०८०, काठमाडौँ : नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको उल्लंघन गरेको बताएका छन्। बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद दाहालले केही दिन अघिको बैठकमा प्रधानमन्त्रीलाई रोस्टम उभ्याएर अन्य सदस्यहरूलाई बोल्न समय दिएको उल्लेख गर्दै सभामुखले प्रतिनिधिसभा नियमावलीको उल्लंघन गरेको बताएका हुन्।
उनले साभामुखले प्रधानमन्त्रीले बोलिसकेपछि प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई बोलाएर फेरि टिकाटिप्पणी गर्ने अधिकार दिएको भन्दै आलोचना गरे।

सांसद दाहालले भने, ‘तपाईंहरूले प्रधानन्त्रीको हुर्मत लिनुभयो। सदन चलाउँदा सदनमा हामी स्वतन्त्र छैनौँ। संविधानको मातहतमा र प्रतिनिधिसभा नियमावलीको मातहतमा रहेर मात्र हामीले आफ्ना अभिव्यक्ति राख्न पाइन्छ। संविधानको मातहतमा रहेर, प्रतिनिधिसभा नियमावलीको मातहतमा रहेर आफ्ना अभिव्यक्ति राख्नुपर्नेमा सभामुख आफैँले पनि प्रतिनिधि सभा नियमावलीको उल्लंघन गर्नुभएको छ। प्रधानमन्त्रीले बोलिसकेपछि प्रमुख प्रतिपक्ष दलका आदरणीय नेता केपी शर्मा ओलीलाई बोलाएर फेरि टिकाटिप्पणी गर्ने अधिकार सभामुखले दिनुभएको छ। त्यसकारणले प्रतिनिधि सभा नियमावलीको मातहतमा रहेर सदन सञ्चालन गर्न निवेदन गर्दछु।’

उनले देशमा एकाएक वर्तमान सरकार आएपछि मात्रै बेथिति नआएको बताए। उनले बेथिति र समस्याहरूको चाङमा विगतमा सरकारको नेतृत्व गरेको प्रतिपक्ष दल एमालेको पनि सहभागिता रहेको उल्लेख गरे।
उनले देशमा भएका समस्याहरूको सबै मिलेर स्वामित्व लिनुपर्ने र मिलेर नै बेथिति, अराजकता र अनुशासनहिनताको अन्त्य गर्नुपर्ने पनि बताए।




प्रतिकृया