राष्ट्र बैंकद्वारा २०८३ सालको बैंक बिदा सूची सार्वजनिक, यस्ता छन् प्रमुख बिदा र समय तालिका
प्रकाशित मिति
२०८२ चैत्र ८ गते, आईतवार ११:३९
नेपाल राष्ट्र बैंकले आगामी वर्ष २०८३ का लागि बैंक बिदाको विस्तृत सूची सार्वजनिक गरेको छ। मानव संसाधन व्यवस्थापन विभागले सार्वजनिक, धार्मिक तथा विभिन्न समुदायका पर्वहरू समेट्दै बैंकिङ कारोबार समयसम्बन्धी विवरण पनि सार्वजनिक गरेको हो।
राष्ट्र बैंकका अनुसार वैशाख १ गते नयाँ वर्षका अवसरमा देशभर बैंक बिदा रहनेछ भने वैशाख १८ गते बुद्ध जयन्ती तथा उभौली पर्व, जेठ १५ गते गणतन्त्र दिवसका दिन पनि बिदा दिइनेछ। त्यस्तै भदौ १२ गते रक्षाबन्धन र भदौ १३ गते गाईजात्रा (काठमाडौं उपत्यका तथा नेवार समुदायमा मात्र) का अवसरमा बिदा हुनेछ।

भदौ १९ गते श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्व, भदौ २९ गते हरितालिका तीजका दिन महिला कर्मचारीलाई मात्र बिदा दिइनेछ भने असोज ३ गते संविधान दिवसका अवसरमा देशभर बैंक बन्द रहनेछ। असोज ९ गते इन्द्रजात्रा (काठमाडौं उपत्यकामा मात्र) र असोज १८ गते जितिया पर्व (सम्बन्धित महिला कर्मचारीका लागि मात्र) मा पनि बिदा रहनेछ।

असोज २५ गते घटस्थापनाबाट सुरु हुने बडा दशैंको बिदा असोज ३१ गते फूलपातीदेखि कात्तिक ६ गते द्वादशीसम्म ७ दिन रहनेछ। तिहार बिदा कात्तिक २२ गते लक्ष्मीपूजादेखि कात्तिक २६ गते भाइटीकाको भोलिपल्टसम्म ५ दिन तोकिएको छ।
यसैगरी कात्तिक २५ गते फाल्गुनन्द जयन्ती (किराँत धर्मावलम्बीका लागि मात्र), कात्तिक २९ गते छठ पर्व, मंसिर १७ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवस (सम्बन्धित कर्मचारीका लागि मात्र) तथा पुस ९ गते धान्य पूर्णिमा, उधौली, योमरी पुन्हि र ज्यापु दिवसमा पनि बिदा दिइनेछ। पुस १० गते क्रिसमस डे, पुस १५ गते तमू ल्होसार र पुस २८ गते पृथ्वी जयन्तीमा पनि बैंक बिदा रहनेछ।
माघ १ गते माघे सङ्क्रान्ति, माघ १६ गते सहिद दिवस, माघ २४ गते सोनम ल्होसार, फागुन ७ गते प्रजातन्त्र दिवस, फागुन २२ गते महाशिवरात्रि, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस, फागुन २५ गते ग्याल्पो ल्होसार, चैत १ गते पहाडी तथा हिमाली होली र चैत २ गते तराई होलीका अवसरमा पनि बिदा तोकिएको छ।
राष्ट्र बैंकले कार्यालय समयलाई दुई भागमा विभाजन गरेको छ। वैशाख १ देखि कात्तिक १५ र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म तथा बैंकिङ कारोबार समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ।
कात्तिक १६ देखि माघ १५ सम्मको हिउँदे समयमा कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र बैंकिङ कारोबार समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म रहनेछ।
प्रत्येक शनिबार बैंक पूर्ण रूपमा बन्द रहनेछ। साथै सरकारले आकस्मिक रूपमा सार्वजनिक बिदा घोषणा गरेमा पनि नगद भुक्तानी, ईसीसी, आरटीजीएस लगायत अत्यावश्यक सेवाहरू सीमित कर्मचारीमार्फत बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म सञ्चालनमा रहने राष्ट्र बैंकले जनाएको छ।






प्रतिकृया