बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य, तर यी वर्गलाई छुट
प्रकाशित मिति
२०८३ असार ३२ गते, बिहीबार ०२:२२
३२ असार २०८३ काठमाडौं – नेपाल राष्ट्र बैंकले निश्चित वर्गका नागरिकका लागि राष्ट्रिय परिचयपत्रविना पनि बैंक खाता खोल्न सकिने व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले जारी गरेको नयाँ निर्देशनअनुसार आफ्नो हेरचाह आफैं गर्न नसक्ने, असक्त, असहाय नागरिक तथा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरबिना पनि खाता खोल्न सकिनेछ।
अन्य नेपाली नागरिकका हकमा भने नागरिकता र राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थालाई २०८१ माघ १ गतेदेखि नै विद्युतीय अभिलेखमार्फत राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर यकिन गरी खाता खोल्ने व्यवस्था मिलाउन निर्देशन दिइएको थियो।

राष्ट्र बैंकले २०८३ असोज मसान्तभित्र सबै बैंक तथा वित्तीय संस्थाले मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट खातावालाको राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्ने व्यवस्था गर्नुपर्ने निर्देशन दिएको छ।

राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका ग्राहकको विवरण सोही अवधिभित्र अद्यावधिक गर्नुपर्नेछ भने परिचयपत्र नलिएका ग्राहकलाई प्रत्येक ६ महिनामा राष्ट्रिय परिचयपत्र लिएर ग्राहक पहिचान अद्यावधिक गर्न मोबाइल एप वा अन्य माध्यमबाट जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।
यस्तै, विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रबाहेक आवश्यक अन्य कागजातका आधारमा अनलाइनमार्फत बैंक खाता खोल्न सक्नेछन्। तर नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित बैंकमा राष्ट्रिय परिचयपत्रको विवरण उपलब्ध गराई अभिलेख अद्यावधिक गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।




प्रतिकृया