• ३२ असार २०८३, बिहीबार
  • २:४० बिहान

बैंकिङ प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

प्रकाशित मिति

२०८३ असार ३१ गते, बुधबार ०१:१७

३१ असार २०८३ काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न १ खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार असार ३१ गते ९१ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकमको बोलकबोल तथा निष्काशन गर्न लागेको हो।

यस प्रक्रियामा सहभागी हुन इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत आवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलनको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। इच्छुक संस्थाले बहुब्याजदर (मल्टिपल रेट) मा पनि बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ। संकलित निक्षेपको साँवा र ब्याज आगामी असोज २८ गते भुक्तानी गरिनेछ।

Kamana Sewa

राष्ट्र बैंकका अनुसार बोलकबोलमा सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म, ५ करोड रुपैयाँले भाग जाने गरी आवेदन दिन सक्नेछन्।

Classic Tech Desktop

रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिइनेछ। समान ब्याजदरमा माग गरिएको रकम निष्काशित रकमभन्दा बढी भएमा ‘प्रो–राटा बेसिस’का आधारमा बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप संकलन उपकरणमा लगानी गरिएको रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नमिल्ने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) र तरलता अनुपातको गणनामा समावेश गर्न सकिने व्यवस्था गरिएको छ।

यस उपकरणलाई राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ। साथै, तोकिएको भुक्तानी मितिअघि निक्षेप फिर्ता वा प्रिम्याच्योर भुक्तानीको सुविधा नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

प्रतिकृया