उपसभामुख रुवी कुमारी पाँच सदस्यीय टोलीसहित चीन प्रस्थान
प्रकाशित मिति
२०८३ असार ३१ गते, बुधबार ०१:११
३१ असार २०८३ काठमाडौं – उपसभामुख रुवी कुमारी पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी छन्। जनवादी गणतन्त्र चीनको न्याङ्ग्ची (निङ्ची) शहरमा आयोजना हुने पाँचौँ चीन–सिजाङ सीमापार अन्तरराष्ट्रिय सहकार्य मञ्चमा सहभागी हुन उनी बुधबार बिहान १०:४५ बजे सिचुआन एयरलाइन्सको उडानमार्फत चीन गएकी हुन्।
उपसभामुखसँगै प्रतिनिधिमण्डलमा संघीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे, उपसचिव नागेन्द्र चौधरी तथा कम्प्युटर प्रोग्रामर अनिशा ढकाल सहभागी छन्। असार ३१ गतेदेखि साउन १ गतेसम्म सञ्चालन हुने उक्त मञ्चमा उपसभामुख रुवी कुमारीले नेपाली प्रतिनिधिमण्डलको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा सिजाङस्थित लिन्ची सहरमा चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङसँग उपसभामुखको भेटवार्ता हुने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्।

उपसभामुख नेतृत्वको प्रतिनिधिमण्डल साउन ४ गते काठमाडौं फर्कने कार्यतालिका रहेको छ।




प्रतिकृया