उचित मूल्यको माग गर्दै किसानले माइतीघरमा गोलभेँडा फ्याँके, कृषिमन्त्रीविरुद्ध नाराबाजी
प्रकाशित मिति
२०८३ असार ३१ गते, बुधबार ०१:०४
३१ असार २०८३ काठमाडौं – उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरूले काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा फ्याँकेर विरोध प्रदर्शन गरेका छन्। बुधबार बिहान माइतीघरमा भेला भएका किसानहरूले कृषि फार्मबाट ल्याइएको गोलभेँडा सडकमा पोख्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। प्रदर्शनकारी किसान बम तामाङका अनुसार गोलभेँडालगायत तरकारीको उचित मूल्य नपाएको र बिचौलियाको प्रभाव अन्त्य गर्न माग गर्दै आन्दोलन गरिएको हो।
प्रदर्शनका क्रममा किसानहरूले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीविरुद्ध नाराबाजी गर्दै विभिन्न मागसहितका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले ‘गोलभेँडा तथा अन्य तरकारीको न्यूनतम समर्थन मूल्य तोक’, ‘कृषि बिमा लागू गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

त्यस्तै, मन्त्रालय र मन्त्रीले किसानका समस्या समाधान गर्न नसकेको आरोप लगाउँदै प्रदर्शनकारीले ‘कृषिमन्त्री मुर्दावाद’को नारा समेत लगाएका थिए।

कृषि पेसालाई सुरक्षित, सम्मानित र दिगो बनाउन सरकारले तत्काल किसानमैत्री नीति लागू गर्नुपर्ने उनीहरूको माग छ। माग सम्बोधन नभए आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी किसानहरूले दिएका छन्।






प्रतिकृया