• १३ भदौ २०८३, आइतबार
  • ८:२२ बिहान

भोटेकोशीमा फेरि बाढी बढ्यो, प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति

२०८३ भाद्र १४ गते, आईतवार ०८:०१

१४ भदौ २०८३ काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आइतबार बिहानैदेखि बाढीको बहाव पुनः बढेपछि सरोकारवाला निकायहरूले प्रभावित तथा तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। यही भदौ १० गते तिब्बततर्फबाट आएको भीषण बाढीमा परेकाहरूको खोज तथा उद्धार कार्य जारी रहेकै बेला नदीमा पुनः बाढीको बहाव बढेको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव थप बढेको जानकारी प्राप्त भएको जनाएको छ। प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा खटिएका व्यक्ति, नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक तथा सम्बन्धित सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

Kamana Sewa

बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय धादिङस्थित त्रिशूली नदीमा जलसतह खतराको तहभन्दा करिब ३ मिटर माथि पुगेको छ।

Classic Tech Desktop

रसुवाको भोटेकोशी क्षेत्रबाट आएको बाढीका कारण त्रिशूली नदीमा जलसतह बढेको जनाइएको छ। साथै गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा मापन भएकाले नारायणी नदी तथा यसका सहायक नदीहरूमा समेत जलसतह बढ्न सक्ने भन्दै महाशाखाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

यस्तै, सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदी जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। सम्बन्धित निकायहरूले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान, खोज तथा उद्धार कार्यमा खटिँदा विशेष सावधानी अपनाउन र स्थानीय प्रशासनले जारी गर्ने सूचना तथा निर्देशन पालना गर्न आग्रह गरेका छन्।

प्रतिकृया